प्रधानमन्त्रीद्वारा संसारभरका लगानीकर्तालाई लगानी गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गरेका छन । आइतबारदेखि काठमाडौं शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका झण्झट हटाई वर्तमान सरकारले लगानीमैत्री वातावरण तयार पारेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन ।
प्रधानमन्त्रीले लगानीकर्ताको सहजीकरणका लागि ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन’ लगायतका ऐन कार्यान्वयनमा रहेको र लगानीकर्ताको सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेको जानकारी दिँदै भने, “हामी भारतलगायत संसारभरका लगानीकर्तालाई लगानीका लागि आग्रह गर्दछौँ ।”
राजनीतिक स्थायित्वसहितको वर्तमान सरकार गठन भएको, लगानीको भरपर्दो वातावरण सिर्जना गरिएको, आर्थिक विकास र समृद्धि नै सबैको साझा लक्ष्य रहेकाले पनि नेपाल लगानीका लागि सुगम र भरपर्दो गन्तव्य भएको प्रधानमन्त्रीको भनाइ थियो ।
सडक सञ्जालको विस्तारमा प्रमुख प्राथमिकता दिइएको, रेलमार्ग, जल यातायातका लागिसमेत काम भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्सार परीक्षणमा समेत थप सहजीकरण गरी विद्युतीय प्रणाली लागू भएको बताए ।
भन्सार प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ वीरगञ्जमा एकीकृत जाँच चौकी सञ्चालनमा आइसकेको, विराटनगरमा केही समयभित्रै उक्त चौकी सञ्चालनमा आउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्सार प्रणालीलाई थप व्यवस्थित र सहज बनाउन आवश्यक पर्ने जति सबै काम गर्न सरकार प्रयासरत रहेको बताए ।
नेपालको चुलिँदो व्यापार घाटा घटाउनका लागि पनि यातायात सञ्जालको विस्तारलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले विविआइएन, सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय तथा उपक्षेत्रीय सङ्गठनमार्फत पनि प्रयास गरिरहेको बताए ।