राहत उपलब्ध गराइदिनु होला
शिव रेग्मी प्रणत
महाशय,
यसपटक मलाई पनि राहत चाहिएको छ
अलिकति विवेक
अलिकति बुद्धि
अलिकति मानवता
अलिकति उदारता
अलिकति सहनशीलता
अलिकति क्षमाशीलता
र
अलिकति विश्वबन्धुत्व भएको राहतको
‘प्याकेज’ चाहिएको छ
गरिवीको अपमान गरेर फोटामा सार्वजनिक गर्ने
कतिपय नेताहरूलाई बाँढ्नुछ
दुई कोसा केरामा श्रमजीवीको हुर्मत काढ्ने
कतिपय जनप्रतिनिधिहरूलाई बाँढ्नुछ
ठूलै कुरा भेटेजस्तो भोकोपेटको अपमान गरेका फोटा र समाचार बनाउने
कतिपय पत्रकारहरूलाई बाँढ्नुछ
औषधि किन्न गएका बिरामीलाई तोरी चुटेजस्तो चुट्ने
कतिपय सुरक्षा संयन्त्रहरूलाई बाँढ्नुछ
मान्छे देखेर परपर तर्किने
कतिपय स्वास्थ्यकर्मीहरूलाई बाँढ्नुछ
आफ्नै हैसियत भुलेर लहडमा तैरिने
कतिपय कर्मचारीहरूलाई बाँढ्नुछ
काम नपाएर लखरलखर डुली हिँड्ने
कतिपय घुमन्तेहरूलाई बाँढ्नुछ
हाम्रै पैसाले धनी बनेर उद्योग चलाउने र समस्या परेका बेला भाग्ने
कतिपय उद्योगपति सामन्तहरूलाई बाँढ्नुछ
सहज अवस्थामा मृगौला बेचाएर उपचार गराउने,
असहज अवस्थामा अस्पताल बन्द गरेर गुफा पस्ने
कतिपय अस्पताल सञ्चालकहरूलाई बाँढ्नुछ
घाटको मुर्दाबाटसमेत कमिशन खान खोज्ने
कतिपय कमिशनखोरहरूलाई बाँढ्नुछ
मृत्युशैयामा बसेका मान्छेहरूलाई समेत बेचेर भ्रष्टाचार गर्ने
कतिपय भ्रष्टाचारीहरूलाई बाँढ्नुछ
खान नपाएका मान्छेलाई देखाउन परिकारहरूका फोटा खिचेर भोकाहरूको अपमान गर्ने
कतिपय पाखण्डीहरूलाई बाँढ्नुछ
घर भएको घमण्डमा कर्के नजरले डेरावाललाई हेर्ने
कतिपय घरवेटीहरूलाई बाँढ्नुछ
अरुलाई उपदेश दिने र आफू उपदेश नमान्ने
कतिपय वेत्ताहरूलाई बाँढ्नुछ
सरेक परुन्जेलमात्र काम गर्न रुचाउने
कतिपय संघसंस्थाहरूलाई बाँढ्नुछ
अर्काका पीरमर्कामा रमाउने
कतिपय परपीडकहरूलाई बाँढ्नुछ
कतिपय कतिपयहरूलाई बाँढ्नुछ
महाशय,
धेरैधेरैसँग सबैथोक छ
केही दिनुपर्दैन
तर कतिपयकतिपय
ऐजनऐजनलाई
तपाइँसँग भएको
अलिकतिअलिकति
बुद्धि,विवेक,उदारता,मानवता,सहनशीलता,क्षमाशीलता र विश्वबन्धुत्वको
राहत मागेको छु
आफ्नै नजिकको
उपर्युक्त गरिबलाई आफूसँग भएको
बुद्धि,विवेक,उदारता,मानवता,सहनशीलता,क्षमाशीलता र विश्वबन्धुत्वमध्ये
जे छ त्यही
अलिकति राहत उपलब्ध गराइदिनुहोला
तपाइँले बाँढ्ने राहतले
सबैलाई बाँच्न सिकाओस्
तपाइँले बाँढ्ने राहतले
सम्पत्तिभन्दा जीवन ठूलो हो भन्ने सिकाओस्
तपाइँले बाँढ्ने राहतले
एकताको भवना सिकाओस्
र सबैसबैभन्दा बढी
तपाइँले बाँढ्ने राहतले
मान्छेलाई मान्छे हुन सिकाओस्