२०७८ बैशाख २७, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता १ वर्ष अगाडि

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाइ १५ प्रश्न

१.झापामा कोरोना रोकथाम, नियन्त्रण र उपचारको तयारी कस्तो छ ?

– हामीले झापा जिल्लामा जिल्ला स्तर र स्थानीय स्तर गरेर अहिलेसम्म ७३६ बेड क्षमताको क्वारेन्टाईन निर्माण गरेका छौं । अझ थप क्वारेन्टाईन निर्माणको प्रक्रियामा नै छन् । थप समेत गर्दा करिब ४ हजार क्षमताको क्वारेन्टाईन निर्माण हुने छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पुर्ण रुपमा पालना गराउन अधिकतम प्रयत्न गरिएको छ । नेपाल भारत सीमालाई पुर्ण रुपमा बन्द गरिएको छ । मानवीय आवत जावत पुर्ण रुपमा बन्देज गरिएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा यसअघि वोर्डर आउट पोष्ट स्थापना गरेर निगरानी गरिरहेको थियो । अहिले सरकारले सीमामा समेत मानव आवतजावतमा प्रतिवन्ध लगाएपछि सशस्त्र प्रहरीले जनशक्ति थप गरेको छ भने नेपाल प्रहरीले समेत सीमा क्षेत्र केन्द्रीत गरेर सुरक्षाकर्मी परिचालित गरेको छ । यसरी नै सीमा क्षेत्रका टोल बस्तीका युवाहरुलाई सिमा निगरानी संयन्त्र निर्माण गरि परिचालन गरिएको छ । सो संयन्त्र मार्फत सीमा क्षेत्रको मानव आवत जावतको सूचना आदान प्रदान र यदि लुकीछिपी कोही नेपाल भित्रिएमा नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाईएको छ । उपचारको सन्दर्भमा मेची अञ्चल अस्पतालमा २५ वेड र दमक अस्पतालमा ५ वेड क्षमताको आईसोलेसन वार्ड तयार पारिएको छ । यी अस्पतालमा आवश्यक जनशक्तिको समेत व्यवस्थापन गरिएको छ ।

२. राहतको तयारी कसरी गरिएको छ ?

– नेपाल सरकार र प्रदेश सरकारको निर्णय बमोजिम पहिलो चरणमा स्थानीय तहहरुले आफ्नो स्थानीय संञ्चित कोषबाट र अन्य सहयोगीहरुको तर्फबाट समेत संकलन गरेर राहत कोष स्थापना गरेका छन् । आजसम्ममा १५ वटै पालिकामा गरि जम्मा ५ करोड ५८ लाख १२ हजार ८ सय ४७ रुपैयाँको कोष बनेको छ ।

३. अब गर्न बाँकी काम के के छन ?

– हामीले सिमा नाकाहरुमा नागरिक स्तरबाट निगरानी बढाउन निगरानी संयन्त्र निर्माण गर्ने निर्णय गरेका छौ । त्यो संयन्त्र तत्काल निर्माण गर्न जरुरी रहेको छ । मेची अञ्चल अस्पतालमा पर्याप्त भेन्टीलेटर सहितको आईसोलेसन वार्ड निर्माण गर्नुपर्छ । अहिले संघीय सरकारले २ वटा भेन्टीलेटर राख्ने प्रवन्ध गरेको छ । हामीले अव १० वटा भेन्टीलेटर थप गर्न प्रदेश सरकारलाई आग्रह गरेर माग पठाएका छौ । त्यसरी नै हाम्रा क्वारेण्टाईनहरुलाई सुविधा सम्पन्न क्वारेण्टाईन बनाउन जरुरी छ ।

४ . जिल्लामा अत्यावश्यक तथा दैनिक उपभोग्य बस्तु आपुर्ती र बितरणको अवस्था के छ ?

– पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक ईन्धनको आपूर्तीको पुर्ण बन्दोबस्ती मिलाईएको छ । खाद्यन्नको विक्री बितरणको सहज व्यवस्था मिलाईएको छ । खाद्यान्न लगायत अत्यावश्यक बस्तुको ढुवानी बेलुका ६ देखि बिहान ६ बजेसम्म गर्ने गरि प्रबन्ध गरिएको छ भने दैनिक उपभोग्य बस्तुहरुको पसल बिहान ११ देखि दिउसो ४ बजेसम्म खोल्ने प्रबन्ध मिलाईएको छ । साग सब्जीका घुम्ती पसल सञ्चालनमा रहेका छन् जसले घरघरै गएर बिक्री बितरण गरिरहेका छन् । औषधि पसलहरु पूर्ववत नै सञ्चालनमा रहेका छन् ।

५. समस्या र चुनौती कस्ता कस्ता छन् ?

– अहिलेको चुनौती भनेको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्नु नै हो । एकातिर दैनिक उपभोग्य बस्तु नागरिकका बिचमा सहज पनि पु¥याउनु छ भने अर्को तिर मान्छेलाई हिडडुल गर्न पनि दिनु भएको छैन । यो विरोधाभाषपूर्ण चुनौती छ । साथै हाम्रामा यो लकडाउन विलकुल नयाँ प्रयोग हो । मान्छेले यसलाई कफ्र्यू वा आम हड्ताल जस्तै ठानिरहेका छन् । सितल फिर्यो वा साँझ विहान भयो यसो घुम्न निस्कियो । प्रत्येक टोल टोलमा सुरक्षाकर्मी पु¥याउन सक्ने अवस्था छैन । नागरिकलाई स्व अनुशासित बनाउन सकिएको छैन ।

६.विपन्न र मजदुरको अवस्था कस्तो छ ? राहत वितरण कसरी भई रहेको छ ?

– नेपालको कुल जनसख्याको सरदर २१ प्रतिशत गरिवीको रेखामुनी रहेको तथ्याङ्क छ । त्यसरी हेर्दा झापमा करिब पौने २ लाख नागरिक गरिवीको रेखामुनी रहेका छन् । ती नागरिकलाई नै हामीले राहत उपलब्ध गराउनु पर्ने हो । आजसम्ममा हल्दीबारी गाऊँपालिका बाहेकका १४ वटा पालिकाले ३९ हजार ३ सय ६१ परिवारलाई पहिलो चरणमा राहत वितरण गरि सकेका छन् । यसबाट १ लाख ६० हजार ४ सय १३ जना प्रत्यक्ष लाभान्वीत हुनु भएको छ । राहत बितरण कार्य जारी नै छ लक्षित वर्ग सबैलाई राहत पु¥याईने छ ।

७. बजार तथा समग्र अनुगमनको अवस्था कस्तो छ ?

– अहिले उपभोक्ता अधिकार ऐनले बजार अनुगमनको सम्पुर्ण व्यवस्था गर्ने गरि पालिका तहलाई तोकेको छ । बजारमा कृतिम अभाव र कालावजारी हुन नदिने कुरामा पालिकाको राजनीतिक तथा प्रशासनिक नेतृत्व सजग छ । (बैशाख ४ गते) मात्रै पनि नगरप्रमुखहरुसँग भिडियो कन्फ्रेन्स भएको छ । त्यहाँ पनि बजार अनुगमनको कुरालाई जोड दिएको छ । जहाँसम्म अन्य अनुगमनको कुरा छ, हामीले कोरोना संक्रमण रोकथाम, उपचार जिल्ला अनुगमन तथा समन्वय समिति गठन गरेर नै आवश्यक अनुगमन र समन्वयको काम गरिरहेका छौ । त्यसका अतिरिक्त जिससको संबैधानिक दायित्व अनुसारको अनुगमन र समन्वयको काम नियमित रुपमा नै भई रहेको छ । समितिका सबै पदाधिकारीहरु आ आफ्नो कार्यक्षेत्रमा जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।

८. चिया उधोग सञ्चालनका बारेमा के निणर्य भयो ?

– जिल्ला अनुगमन तथा समन्वय समितिको तर्फबाट सरकारले तोके बमोजिमको मापदण्ड पुरा गरेर चिया उधोग सञ्चालनको व्यवस्थापन जिल्ला प्रशासन कार्यालयले मिलाउने निणर्य भएको थियो । सो काममा जिल्ला प्रशासन कार्यालयमा आजै प्रमुख जिल्ला अधिकारीको संयोजनमा उधोगी र मजदुर क्षेत्रको नेतृत्व तहको छलफलबाट बैसाख ७ गतेबाट चिया बगान तथा उधोगहरु सञ्चालन गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ ।

९. चिया मजदुरले राहत पाए त ?

– नेपाल सरकारले असंगठीत क्षेत्रका मजदुरहरु र असाहय व्यक्तिहरुलाई राज्यको तर्फबाट स्थानीय पालिका मार्फत राहत उपलब्ध गराउने निर्णय भएको छ । चिया मजदुरहरु संगठित क्षेत्रका मजदुरहरु हुन् र उनीहरुलाई सम्बन्धित उधोगीले नै राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यस वापत राज्यको तर्फबाट सरकारले आवश्यक सहुलियत उपलब्ध गराउने भनिएको छ । त्यसकारण चिया मजदुरहरुलाई राहत उपलब्ध गराउने मुख्य दायित्व उधोगीहरुको हो । तर, पालिका भित्रका नागरिक भएको हिसाबले पालिकाहरुको तर्फबाट पनि केही राहत बितरण गरिएको भन्ने जानकारी पाएको छु ।

१०. कारागारका कैदीका लागि हातधुने साबुन समेत नरहेको गुनासो सञ्चार माध्यममा आएपछि समाधानको पहल गरियो, अहिले कस्तो अवस्था छ ?

– मलाई अच्चम लाग्छ, कारागारका कैदी बन्दीहरुको न्यूनतम आवश्यकता राज्यको तर्फबाट उपलब्ध गराईन्छ । साबुन, सेनिटाईजर, मास्क लगायतका सामग्री नभएको समाचारपछि सामाजिक विकास राज्य मन्त्री ज्यू मास्क र सेनिटाईजर बोकेर आउनु भएछ र हामी पनि गयौ । त्यहाँ जेलरलाई सोध्दा ती सामग्री पर्याप्त भएको पाईयो । कारागारमा खाद्यान्न लगायत त्यसता कुनै सामग्रीको अभाव छैन । समाचारमा आएपछि सामाजिक संघ संस्थाका साथीहरुले साबुन लगेर हस्तान्तरण गर्नु भयो । तर सामग्री नै नभएको अवस्था चै हैन र त्यो अवस्था पनि छैन ।

११. कृषकका लागि मल, विऊ र ईन्धन लगायतका सामाग्री कसरी उपलब्ध गराईदैछ ?

– किसानहरुलाई सिचाईको प्रयोजनका पानी पम्प सञ्चालनका लागि आवश्यक पर्ने डिजेल उपलब्ध गराउने व्यवस्था मिलाईएको छ । मलको आपूर्तीका लागि कृषि सामग्री कम्पनी र साल्ड ट्रेडिङ्गका जिल्लास्थित कार्यालयलाई आवश्यक निर्देशन गरिएको छ ।

१२. कृषि उत्पादन बजारसम्म पुग्न नपाएको गुनासो आएको छ । यसलाई कसरी सहज बनाउन सकिएला ?

– कृषि उपजका ढुवानीका साधनहरुलाई ढुवानीको सहज बातावरण निर्माण गरिएको छ । यदि कुनैपनि किसानको उत्पादन बजारसम्म पु¥याउन असहज भयो भने स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायसँग समन्वय गर्नु हुन अनुरोध पनि गर्न चहान्छु ।

१३. सडकपेटीमा बस्ने असाहय र मानसिक रोगी लकडाउनमा भोकै परेपछि सामाजिक अभियान्ता दिवाकर चौधरी र सञ्चारकर्मी खगेँन्द्र घिमिरेले दैनिक खाना खुवाउदै हुनुहुन्छ । यसबारे के भन्नु हुन्छ ? अझ के गर्नु पर्ला ?

– अभियान्ता साथीहरुलाई धन्यवाद । लकडाउन नभएको वेलापनि ती सडकमा रहेका मानिसहरुलाई कोही न कोही व्यक्तिहरुले खाना खुवाउनु भएको थियो । हिजोसम्म खुवाउने र भोली लकडाउन खुलेपछि खुवाउनेहरुलाई पनि धन्यवाद दिन्छु । यस सन्दर्भमा हामीले नयाँ ढंगले सोच्न जरुरी छ । हिजो जनताको आगनमा सरकार भएन सरकार टाढा भयो भनेर हामीले जनताको आगनमै सरकार पु¥याउने अभियान अन्तरगत शक्ति सम्पन्न स्थानीय सरकार निर्माण ग¥यौ । त्यसैले त्यस्ता असाहयहरुको संरक्षण कसरी गर्ने स्थानीय सरकारले योजना बनाउन जरुरी छ । सडकलाई सडकमानव रहित बनाउन जरुरी छ । आजको यो जनताले ल्याएको लोकतान्त्रिक शासन व्यवस्थाका लागि सडक मानव सुहाउदो विषय हैन ।

१४. निजी अस्पतालले सामान्य ज्वरो आएका विरामी समेत गेटबाटै फर्काउने गरेको गुनासो छ । यो समस्या हलका लागि के निर्णय भएको छ ? के त्यसको कार्यान्वयन भएको छ ?

– अस्पताल चाहे निजी वा सरकारी ती नागरिकका सेवाका लागि हुन् । सहज वा असहज जुन सुकैबेला पनि नागरिकको सेवामा समर्पित हुन जरुरी छ तर झापाका केही निजी अस्पतालहरु जुन हर्कत देखाए त्यसलाई हामीले नजिकबाट अवलोकन गरेका छौ । सहजबेलामा नाफाका लागि लुछाचुडी गर्नेहरुको भाग्ग्रे भागको अवस्था पनि देखियो । सेवा दिन आवश्यक पर्ने सामग्रीको न्यूनतम प्रबन्ध उहाँहरुको दायित्व हो । अधिक आवश्यकता पर्यो भने त्यो वेला राज्य गुर्हान सकिन्छ । तर हाम्रा पुर्खाले भनेको उखान माछा देख्दा दुला हात सर्प देख्दा … को प्रवृति देखियो । उहाँहरुलाई राज्यको तर्फबाट दायित्व निर्वाह गर्न आग्रह गरिएको छ । त्यो दायित्व पुरा गर्नु हुन्छ भन्ने विश्वास लिएको छु ।

१५. झापामा हालसम्म भएका समग्र कामको मुल्याङ्कन कसरी गर्नु भएको छ ?

– सरकारको सही बेलाको सही निर्णयका कारण हामीले परिस्थितीलाई नियन्त्रणमा लिन सक्यौ जस्तो लाग्छ । आजसम्मको अवस्थालाई हेर्दा अव भयावह हुदैन भन्ने विश्वास जागेको छ । सरकारको निर्णयलाई आम रुपमा नागरिकस्तरबाट जुन रुपमा स्वीकार गरियो र कार्यान्वयन गर्न नागरिक स्तरबाट पहलकदमी लिईयो । यो सहारनीय काम भएको छ । लकडाउनलाई टोल टोल स्तरमा कार्यान्वयन गर्न होस वा सीमा निगरानीमा होस एउटा उच्च जिम्मेवारी बोध गरेको महसुस गरेको छु । त्यसका लागि झापाली सबै आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा धन्यवाद ज्ञापन गर्दछु । साथै झापामा लामो समयदेखि राजनीतिक दलहरु बिचको सहकार्यको संस्कृति छ । यो संक्रमणको संकटको वेलामा पनि दलहरु बिच त्यो संस्कृती प्रकट भएको छ । उच्च राजनीतिक संस्कृती सहित सहकार्यका लागि राजनीतिक दलहरुलाई आभार प्रकट गर्दछु । विपद्को बेला आफ्नो मुठ्ठी खोल्ने सबै महान व्यक्तित्वहरुप्रति सम्मान गर्दछु । जिल्लाको प्रशासनिक नेतृत्व सरदर युवा अवस्था कै भएर होला जुन सक्रियता छ त्यसका कारण पनि हामी व्यवस्थित हुन सक्यौ ।
अन्त्यमा, हामीले जिससको वेवसाईडमा कोरोना संक्रमण सम्बन्धी सूचनालाई एकिकृत रुपमा हेर्न मिल्ने गरि ड्यासबोर्ड निर्माण गरेका छौ । त्यो ड्यासवोड तयारी र तथ्याङ्क प्रविष्ट र सम्पादन गर्ने सूचना प्रविधी बिज्ञ साथीहरु र १५ वटै पालिकाको सूचना प्रविधी अधिकृतहरुको योगदानका लागि समेत आभार प्रकट गर्दछु ।
अस्तु