आजको चिन्तन-कर्तव्य भनेको दायित्व, आचार, दर्शन र धर्मको समन्वय
डिल्लीराम गौतम
कर्तव्य भनेको दायित्व, आचार, दर्शन र धर्मको समन्वय हो । कर्तव्यमा धर्म हुन्छ । धर्म कर्तव्यको प्राण हो । यो धर्म गर्नुपर्ने हरेक काममा संस्कारका रूपमा आएको हुन्छ । यसर्थ कर्तव्यको प्रथम चरण धर्म हो । यसको दोस्रो चरण दर्शन हो । दर्शन कर्तव्यको आत्मा हो त्यसैले दर्शन मौलिक र शुद्ध हुनुपर्छ ।
तेस्रो चरण भनेको आचार हो । आचार हृदय हो । हृदय सदैव पवित्र रहनुपर्छ । यसर्थ आचारलाई सदैव पवित्र बनाउन लागि रहनुपर्छ । आचार भनेको हृदयतलबाट नियमहरूको पालनगर्नु हो । धर्म र दर्शनले निर्धारण गरेका चरित्रहरू निर्वाह गर्दै आफूले गर्नै कामको जिम्मा स्वत: लिनु दायित्व हो ।
दायित्व व्यवहारको गति वा सामथ्र्य हो । यसर्थ कर्तव्यको चौथो चरण दायित्व हो । जसलाई सदैव गतिशील र समर्थवान् भएर ग्रहण गर्नुपर्छ । यसर्थ कर्तव्यमा धर्म, दर्शन, आचार र दायित्व समाहित भएका हुन्छन् ।