२०८१ चैत्र ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि
अहिले जस्तो लाग्छ !
यिनीहरु
बाख्रा दलाली गर्दै थिए
भैंसी फुटाउँदै थिए
कोही नाग टाँस्तै हिंड्थे,
कुशे औंशीमा
कुश घुसार्दै हिड्थे
घर छोडेर
दुनियाँलाई तर्छाउँदै,हप्काउँदै
मासु भात घिचेर हिंड्थे
मन नपरेकाहरुलाई
आँखा फुटाएर,घुँडा फुकालेर
चट्चटी मुण्टो छिनालेर
मनोरञ्जन गर्दै हिंड्थे ।
समय क्रममा
कथित जन प्रतिनिधि भएर
पजेरो र प्राडोमा सवार हुंदै हिंड्न थाले
सात खुन माफ पाउने हकदार यिनीहरु
गणतन्त्रका ब्याख्याता भए
अध्ययन चिन्तनहीन यिनीहरु
रातारात रुसो भए,भोल्तेयर, माक्स दाँते र लेनिनभए
राता फेटा गुथेर कोही माओ भए
कोही बीपी गणेशमान र किसुनजी भए
पुष्पलाललाई गद्धार भन्नेहरु
उनको शालिक बनाउन आतुर देखिए ।
समयक्रममा यिनीहरु
मन्त्री भए,प्रधान उपप्रधानमन्त्री हुन पुगे
हिजो भेडा बाख्रा चराउनेहरु
आज मान्छे चराउन थाले
भट्मासे र खोयाबिर्केहरु
तारे होटलमा राज गर्न सक्षम भए
हेर्दा हेर्दै यिनीहरु
बिदेशी दुतावासका दुत भए
जल,जमिन र जङ्गल आफ्नै बपौती ठानेर
बिदेशीलाई बेच्न थाले
कमिशन र लुट खसौटका धन्दावाल यिनीहरु
देशका ठेकेदार हुन पुगे ।
धर्म बेचे,संस्कृति बेचे,अध्यात्मको धुलो उडाए
इतिहास पोले,पुर्खालाई बद्नाम गरे
प्रजातन्त्रका पुरोहित यिनीहरु
साम्यवादका सम्वाहक यिनीहरुको
आज कुनै दल छैन,धर्म छैन न त छ कुनै जात
एउटै लय छ,ताल एउटै श्वर र हृदम एउटै देखिन्छ
हात हातमा फरक फरक झण्डा बोकेर
अलग बिचार र दर्शनको अभिनय गरेर
जनता छल्ने र झुक्याउने
घिउ र तरवार बेचुवा पात्रहरु
पालै पालो सत्तासिन भएर
आज देश बेच्न आतुर छन
महाशक्तिका धुपौरे यिनीहरु
तलुवा चाट्न हतारिएकाछन
देश बेचेर स्वास्नी छोराछोरी पाल्न उद्धत दलालहरु
आज एमसीसी भित्र्याएर
दासत्व स्वीकार गरिरहेछन
अन्त्यहीन युद्ध रोपेर
समृद्धिको सपना देखिरहेछन ।
इतिहास मै तरल छ देश यतिबेला
देश प्रसव वेदनालाले छट्पटिएको छ
आम जनता देशका पक्षमा उभिएकाबेला
एक दर्जन दलालहरुले
देश तराजुमा हालेर जोखिरहेकाछन
हिजो भैंसी फुटाएर जोख्नेहरु हुन या
नाग टाँसेर पेट पाल्नेहरु हुन
जात धर्म र लिङ्गिय पहिचान हराएका यिनीहरुको
नाङ्गो नाच हेरेर होइन
नाटक र तमासाका रमिते भएर होइन
यो बेला
सिङ्गो देश
जुरुक्क उठेनभने
देश भुँवरीमा रुपान्तर हुँदैछ
एउटा प्राचिन,सचेत र सभ्यताको मूल जरो
सदा सदाका लागि उखेलिंदैछ
नामेट हुँदैछ ।
(पत्रकार चन्द्र भण्डारीको सामाजिक सञ्जाल फेसबुकबाट साभार गरिएको कविता)