२०८१ बैशाख १३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

मैले जे देखेँ त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ मेरो बालमष्तिस्कमा लाग्थ्यो नेपाली काँग्रेसमा आवद्ध नेता तथा कार्यकर्ताहरु धनी हुँदा रहेछन् । धनी मानिसहरु काँग्रेसमा लाग्ने रहेछन् । फेरी मनको अर्को कुरा खड्किन्थ्यो काँग्रेस वा अन्य राजनीतिक दलहरुमा नेतृत्व चाहि अलि पाका उमेरका ब्याक्तिहरुले गर्ने रहेछ ।

अहिले मुख्य राजनीतिक दलहरुको नेतृत्व हेर्ने हो भने उमेरले पाका नै देखिन्छन् । बिशेष गरी १८ बर्षदेखि ४० बर्षसम्मको उमेर समुहलाई युवा मानिन्छ । राजनीतिक दलहरुको केन्द्र देखि स्थानीय तहसम्म नै यो उमेर समुह नेतृत्वमा कमै पुगेको छ । विशेष गरेर जन बर्गिय संगठनहरु बाहेक मुल पार्टीमा युवाहरु मुख्य नेतृत्वमा पुगेको खासै देखिन्न । उमेरले पाका र हिडडुल गर्न सक्नेलाई युवा नेतृत्व भन्ने प्रवृती मौलाएको अवस्था देखिन्थ्यो ।

नेपालको पुरानो ईतिहास बोकेको नेपाली काँग्रेस अहिले आफ्नो चौधौ महाअधिवेसनको तयारीमा रहेको छ । पालिका स्तरमा वडा तहको नेतृत्व चयन गरिरहदा काँग्रेसमा पुस्ताण्तरण देखिएको छ । वास्तविक युवाहरु वडा तहको नेतृत्वमा आएकाछन् । पालिका तथा क्षेत्रिय स्तरमा पनि निर्णायक देखिने गरी प्रतिनिधित्व देखिदैछ । युवा पुस्तामा राजनीतिक चेत कम हुँदै गएको हो की ? भन्ने चिन्तालाई यसले कमी गराएको जस्तो लाग्छ ।

झापाका १५ पालिकाका वडाहरुमा भएको वडा सभापति चयनमा धेरै ठाँउहरुमा विद्यार्थी राजनीतिक गरेका तथा युवा तरुणहरु नेतृत्वमा आएकाछन् । उमेरले पाका ब्याक्तिहरुले बिश्राम लिएजस्तो देखिएको छ । पुराना नेतृत्व तथा नेता एवं कार्यकर्ताले पनि युवालाई विश्वास गरेजस्तो देखिएको छ । यो एउटा राजनीतिमा सुखद परिणाम मान्न सकिएला । यसले अब अन्य राजनीतिक दलहरुलाई पनि पुस्ताण्तरणका लागि पाठ सिकाउने देखिन्छ ।

पुराना एवं प्रमुख राजनीतिक दलहरुमा युवाहरुको उपस्थितिले राजनीतिलाई समय सापेक्ष डोर्याउन मद्धत पुग्न सक्छ तर संगसंगै चुनौती पनि रहनेछ । किन भने सबै उमेर समुहका हितमा पार्टी परिचालित बन्नु पर्छ । परम्परागत रुपमा चुनिने नेतृत्वको विकल्पमा युवा नेतृत्व स्थापित हुने भएकाले काम गराईहरुमा यसले असर पुग्न सक्दछ । निश्चित बर्ग र उमेर समुहलाई मात्र नभएर सबैलाई डोर्याएर युवाले लैजान सक्नुपर्छ ।

अब स्थानीय तहको निर्वाचन र अन्य निर्वाचन समेत नजिक आँउदैछ । यसरी नै युवा पुस्ता अघि बढ्ने हो भने राजनीतिमा पनि परिवर्तन आउन सक्ला । स्थानीय तहदेखि तीनै तहका निर्वाचनमा युवाहरु स्थापित बन्ने हो भने पक्कै पनि यसले नयाँ परिणाम निकाल्न सक्छ । देश विकासमा भड्को मार्न सक्छ । प्रविधि र विश्व राजनीतिक घरमा बसेर नियाल्न सक्न ल्यागत अहिलेको युवा पीडिमा रहेको हुनुपर्छ । यसले गर्दा पार्टी तथा संगठन नयाँ ढंगले चल्न सहज बन्न सक्छ ।

संयुक्त राष्ट्र सङ्घले १५ देखि २९ वर्षसम्मका लागि युवा भनी परिभाषित गरेको छ। छिमेकी मुलुक भारतमा १६ देखि ३२ वर्षलाई युवा भनी परिभाषित गरिएको छ। नेपालमा भने ३५ देखि ४० बर्ष उमेर समुहलाई युवा मान्ने बहस कायमै देखिन्छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या कुल जनसङ्ख्याको ४०.३ प्रतिशत रहेको छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा युवावर्गको भूमिका महत्वपूर्ण रहेको हुन्छ । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवम् उच्च आत्मविश्वासका कारण यो वर्गलाई राष्ट्र  निर्माणको प्रमुख स्रोत समेत मानिएको छ ।

अमेरिकामा ओबामा ४६ वर्षमा राष्ट्रपति, बेलायतमा ड्याभिड क्यामरून ४३ वर्षमा प्रधानमन्त्री, गणतन्त्र कङ्गोमा जोसेफ काबिला ३० वर्षमा राष्ट्रपति बने । सन् १७८३ माविलियम पिट २४ र १९०४ माजोन वास्टन ३७ वर्षमा बेलायती प्रधानमन्त्री भए । यस हिसावले हेर्ने हो भने नेपालमा मुख्य नेतृत्वमा तथा शाषन सत्तामा युवाहरुको उपस्थिति नगन्यमात्र छ । सन्ना मरिन (३४) फिनल्यान्डमा प्रधानमन्त्री, नायव बुकेले (३९) सल्भादरको प्रधानमन्त्री, जसिन्दा अर्डेन (४०) न्युजिल्यान्डकी प्रधानमन्त्री, इम्यानुएलम्याक्रो (४२) फ्रान्सको राष्ट्रपति भएको ईतिहास छ ।