२०८१ बैशाख ७, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/  मलाई लागेको थियो पक्कै पनि हाम्रो देशमा अब आधारभूत स्वास्थ्य सेवाको पहुँच कुनै न कुनै रुपमा पुगेको छ । स्वास्थ्यको बिषयमा हरेक नागरिकहरु सचेत भइसकेकाछन् । स्वास्थ्य मानिसहरुको आधारभूत बिषय र मौलिक हकको पनि बिषय हो । अझ स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार गरेर तीन तहको सरकार भएकाले मौलिक हक कार्यन्वयन र त्यसमा पनि स्वास्थ्य क्षेत्रमा पनि पहाडि क्षेत्र अघि बढेको होला भन्ने मलाई लाग्थ्यो ।

गत साता पाँचथरको थर्पुमा एउटा बृहत स्वास्थ्य शिबिर भयो । लायन्स क्लवहरुको तर्फबाट त्यहाँ जानका लागि प्रस्ताव आयो । शिबिरलाई सहयोग पुर्याउन तथा आयोजकको भूमिकामा लायन्स क्लव अफ ३२५ ए वान अन्न्र्तगत क्लवहरुको तर्फबाट त्यहाँ पुगियो । लायन्स लिडर एवं चिफ गर्भनर एड अजयकुमार अग्रवाल, ईम्प्याक्ट चिफ ज्ञाननाथ पौड्याल, जोन चियर पर्सन हेमसिं अधिकारी, लायन्स क्लवहरुबाट प्रतिनिधित्व गर्दै रामचन्द्र मिश्र, राजु खड्का, दयासागर आचार्य , दीपक खड्का, बिप्लव दंगाल सहितको हाम्रो टोली रहेको थियो ।

दमकको संगम स्वीट्समा हामीले बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट शिविरमा जाने विशेषज्ञ चिकित्सक सहित करिब ५ दर्जन स्वास्थ्यकर्मीहहरुलाई स्वागत गर्दै पहाडि यात्रामा लागेका थियौ । त्यहाँ पुगेपछि थाहा भयो एउटा बृहत स्वास्थ्य शिबिर दूई जना युवाहरुको सोचको परिणाम रहेछ । याङवरक गाँउपालिकाको थर्पुमा भएको स्वास्थ्य शिबिरलाई नजिकबाट नियाले । यसमा  स्थानीय  गाँउपालिका, स्थानीय संघसंस्था लगायत लायन्स क्लवहरुको साथ एवं हौसला र सहयोग रहेछ ।

स्थानीयबासि तथा निर्माण ब्यवसायी तिलविक्रम योङहाङ र स्थानीय तथा बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा.दुर्गा न्यौपानेको सोचको परिणाम यो शिविर रहेछ । यसमा विप्लव दंगालले लायन्सलाई जोडेका रहेछन् । इन्टरनल मेडिसिन, फिजिसियन, स्त्री रोग, हाडजोर्नी, मानसिक, नाँक कान घाँट, रेडियोलोजि, सर्जरी, बालरोग लगायतका बिभिन्न विशेषज्ञा सेवा सहितको स्वास्थ्य शिबिरमा विहानै देखि मानिसको भिड थियो ।

लायन्स क्लवहरुको तर्फबाट ब्यवस्थापन गरिएको आँखा शिबिरमा त झनै बढि चाप देखियो । जहाँ ४ सयभन्दा बढिले सेवा लिए र १ सय ५० जनामा मोतियाबिन्दु रहेको पाईएको जनाईएको छ । यसले पहाडि क्षेत्रमा मोतिया बिन्दुको अवस्थामा निक्कै नै भयाभह रहेको भन्न सकिन्छ । १६ सयभन्दा बढिले एकदिने स्वास्थ्य शिबिरबाट लाभ लिएको पाईएको छ । यो चानचुने होइन । मानिसहरु आफ्नो विराम देखाउन अघिल्लोदिन देखि नै आएर थर्पुमा बसेको पनि पाईएको थियो ।

स्वास्थ्य शिबिरमा आएकी एक महिलाको पेटमा खेर गएको बच्चा रहेको र उनले स्वास्थ्य शिविरमा आएपछिमात्र थाहा पाएको, एक महिलाको खुट्टा काट्नु पर्ने अवस्थामा रहेको, पक्षघात भएर स्ट्रेचरमा ल्याएका विरामीहरुले समेत यहाँ सेवा लिए । गम्भिर अवस्थाका विरामीहरुलाई समेत स्वास्थ्य शिविरमा ल्याईएको थियो । समयमा उपचार पाएको भए ठुलो समस्या बेहोर्नु नपर्ने विरामीहरु समयमा उपचारमा नगएका कारण ठुलो समस्यामा परेको पाईएको स्वास्थ्यकर्मीहरुको भनाई थियो ।

स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थाहरुले सस्तो लोकप्रीयताका लागि सुगम क्षेत्रमा गरिने शिविरहरु देख्दै आएको मलाई यहाँको शिविरले भने निक्कै मन छोयो । आखिर यस्तो ठाँउहरुमा बर्षमा कम्तिमा नि एक पटकमात्र स्वास्थ्य शिबिर गर्ने हो भने पनि धेरै विरामीहरुको अकालमा ज्यान जाने रहनेछ । स्वास्थ्य शिबिरमा आकर्षण र विश्वास रहेछ । यसले रोगको पहिचान गर्नका लागि सहयोग पुग्ने रहेछ । शिविरका लागि सकारत्मक सोच भयो भने ब्याक्ति तथा संस्थाहरुले सहज रुपमा गर्न सक्नेरहेछन् ।

लामो यात्रा र थकान सहित त्यहाँ पुगेका स्वास्थ्यकर्मीहरुको उत्साह झनै सम्मानयोग्य थियो । भोकै र एकछिन पनि आराम नगरी विरामीहरु हेरिरहेका थिए । विरामीको चापलाई कम गर्न स्वास्थ्यकर्मीदेखि लिएरस स्थानीय स्वयंसेवी र लायन्सकर्मीेहरु लागि परे । विहान ८ बजे शुरु भएको स्वास्थ्य शिविर बेलुका अबेरमात्र सकिएको थियो । स्वास्थ्य शिबिरमा आएका विरामीहरुको जाँचमात्र भएको थिएन उनिहरुलाई निशुल्क रुपमा आवश्यक औषधि पनि उपलब्ध गराईएकाले विरामीहरु सन्तुष्ट भएर फर्केको देखिन्थ्यो ।