स्थानीय सरकार कस्तो बनाउने ? निर्णायक भुमिकामा मतदाता

विष्णुप्रसाद पोखरेल
मैले जे देखे त्यहि लेखेँ
दमक/ हामी स्थानीय निर्वाचनको संघारमा छौ । अहिले उम्मेद्वारहरु आफ्नो पक्षमा मतदान गराउन प्रभाव र दबाब बनाउन कस्सिएर लागेकाछन् । भावानात्मक रुपमा होस या कुनै पनि रुपमा आफ्नो पक्षमा कसरी माहोल सिर्जना गर्ने भन्ने ध्यान उम्मेद्वारहरु देखिन्छ । तर मतदाताहरुले आफ्नो मतदिनु अघि धेरै सोच विचार पुर्याउन आवश्यक छ ।
संविधानले नै स्पष्ट रुपमा किटान गरेको छ की हरेक नागरिकले आफ्नो मताधिकार आफ्नो विवेकले प्रयोग गर्न पाउछ । यसले गर्दा कसैको दबाब र प्रभावमा पर्ने अवस्था रहदैन । आफ्नो गाँउनगरको विकास गर्न सक्ने, स्थानीय सरकारको प्रत्याभुत हरेक नागरिकमा गराउन सक्ने क्षमता भएको, जनभावाना बुझ्न सक्ने किसिमको उम्मेद्वार को हुनसक्छ ? मतदिनु अघि सोच पुर्याउनु पर्दछ ।
स्थानीय सरकारले धेरै काम गर्न सक्छ । स्थानीय पुर्वधार विकास, शिक्षा स्वास्थ्य क्षेत्रको विकास, न्यायिक सम्पादन, समय अनुसार प्रविधिको प्रयोग गर्ने र गराउने कार्य, लोकतन्त्रको स्थानीयस्तरदेखी नै संस्थागत विकास गर्न लगायतका कार्यमा स्थानीय सरकारको महत्वपुर्ण भुमिका रहन्छ । यसका लागि यहाँ नेतृत्व गर्ने ब्याक्ति त्यसै अनुसारको हुनु पर्दछ ।
आफ्नो मतदिने समयमा कसैको प्रभाव, दबाब वा अनुहार र आफन्त हेरेर होईन उसको योजना, कार्यक्षमता, प्रतिबद्धता र ब्याक्तित्व हेर्न आवश्यक छ । निर्वाचनको समयमा मतदातालाई प्रभाव पार्न बिभिन्न प्रकारका प्रोपागाण्डा ल्याउने, अनुचित रुपमा लेनदेन गर्ने र गराउने, आरोप तथा प्रत्यारोप लगाएर एकले अर्कालाई खुइल्याउने कार्य पनि भएको देखिन्छ । यस्तो कार्यलाई निरुत्साहित गर्नका लागि मतदाता सचेत बन्नु पर्दछ । आर्थिक, सामाजिक, राजनीतिक, सास्कृतिक लगायत बहुआयमिक क्षेत्रमा काम गर्न सक्ने किसिमका जनप्रतिनिधिहरु चुन्नका लागि सबै मतदाताले आफ्नो स्वतन्त्र विवेक प्रयोग गर्नु पर्छ ।
स्थानीय सरकार र अधिकारक्षेत्र
मानिस र उम्मेद्वारहरुका फरक बिचार हुनसक्छन् यसले गर्दा एक अर्काको बिचारको सम्मान गर्ने, उनिहरुका प्रतिबद्धताहरु र काम गर्ने क्षमताको बिषयमा मूल्याङ्कन गर्ने, भावानत्मक रुपमा नभएर सिर्जनात्मक रुपमा कस्ले काम गर्न सक्छ ? छुट्याउने र विवेक पुर्याएर मतदान गर्ने हो भने सहि जनप्रतिनिधि चुनिन सक्छ । सोच बिचार नगरी लहडमा वा कसैको अनुचित प्रभावमा परेर मत प्रयोग गर्दा यसले राम्रो नतिजा नदिनसक्छ । पछि आफैलाई आफैलाई पछुतो मान्नु पर्ने अवस्था आउछ ।
स्थानीय क्षेत्रको शान्तिसुरक्षा‚ विकास एवं प्रशासन स्थानीय क्षेत्रकै निर्वाचन प्रतिनिधिद्वारा सञ्चालन गर्ने सरकारलाई स्थानीय सरकार भनिन्छ । स्थानियक सरकार स्थानीय संस्थाबाट गरिने शासन हो‚ जसमा जनताबाट निर्वाचित प्रतिनिधि हुन्छन् । केन्द्रीय सरकारको सामान्य नियन्त्रण र निर्देशन भए पनि तोकिएको विषयमा आफ्नो क्षेत्रभित्र स्थानीय सरकारको पूर्ण अधिकार र उत्तरदायित्व हुने गर्दछ ।
केन्द्रीय सरकारले समग्र देश र स्थानीय सरकारवीच समन्वय र नियन्त्रण गर्दछ भने स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र समन्वय र नियन्त्रण गर्दछ । एउटा देशमा केन्द्रीय सरकार एउटा मात्र हुन्छ भने स्थानीय सरकार एकभन्दा बढी हुने गर्दछ । नेपालमा गाउपालीका,नगरपालिका र प्रदेश लाई स्थानीय सरकारका रुपमा लिने गरिन्छ ।
स्थानिय सरकारको आवश्यकता
स्थानीयस्तरमा जनचाहना अनुरुपका आवश्यकता पूर्ति गर्न‚
स्थानीय नेतृत्वको विकास गर्न‚
स्थानीय तहमा छरिएर रहेको शक्तिलाई एकीकृत गरी परिचालन गर्न‚
स्थानीय साधन स्रोत‚ सीप‚ प्रविधि‚ क्षमता एमं अनुभवको अधिकतम परिचालन गर्न‚
लोकतन्त्रको स्थानीयस्तरदेखी नै संस्थागत विकास गर्न‚स्थानीय जनतामा राजनीतिको व्यवहारीक ज्ञान बृद्धि गर्न‚
स्थानीयस्तरको योजना व्यवस्थापन (योजना पहिचान‚ तर्जुमा‚ कार्यान्वयन‚ अनुगमन‚ प्रतिफल बाँडफाँड) मा स्थानीय निकायलाई नै जिम्मेवार र जवाफदेही बनाउन‚
शासन व्यवस्थापनमा जनताको सहभागिता प्रवर्द्धन गर्न‚
जनतालाई स्थानीय स्तरमा नै सेवा सुविधा उपलब्ध गराउन‚
स्थानीय तहबाट नै शुशासनको स्थापना गर्न
यस हिसावले हेर्दा यतिबिघ्न अधिकार क्षेत्र भएको स्थानीय सरकारमा गतिशिल नेतृत्व आवश्यक छ । क्षमतावान नेतृत्व आवश्यक पर्छ । हामीले हाम्रो भन्दा पनि राम्रो मान्छे स्थानीय सरकारमा जनप्रतिनिधिको रुपमा पठाउन जरुरी छ । अन्यथा ५ बर्षसम्म फेरी यो अवसर आँउदैन । त्यसले हामी आफैलाई क्षति गर्न सक्छ । यस बिषयमा गम्भिर बन्नु पर्छ ।