२०८० चैत्र १६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखेँ

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा केहि बर्ष अघि गरिबी निवारणको नाममा खोलिएको एउटा सहकारीको सेवा केन्द्र ड्ब्यो र भाग्यो । एक बर्ष अघि दमककै त्रिगंगा सहकारी भन्ने संस्था पनि बन्द भयो । पछिल्लो समयमा तुलसी बहुद्धेशीय सहकारी संस्थाको सेवा केन्द्र बन्द भएको छ र अर्को सूचना नआएसम्म नखुल्ने भनिएको छ ।

शुरुमै शंकाश्पद रुपमा निक्षेप संकलन गर्ने सहकारीहरु बढि जोखिममा रहेको पाइएको छ । महगो ब्याज दिने र कसैले नदिएको सेवासुविधा दिने भनेर सकेसम्म धेरै निक्षेप संकलन गर्ने सहकारीहरु जोखिममाछन् । निक्षेपमा ब्याज पनि बढि दिने र निक्षेप गर्न फकाउने तथा त्यस्ता निक्षेपकर्तालाई ल्याउने बिचौलिया लाई कमिसन समेत दिनेजस्ता कार्य गर्ने, उक्त निक्षेपले जग्गाजमिन, घरघडेरी र भौतिक सम्पतिमा लगानी गरेर धेरै कमाउने उदेश्य राख्ने सहकारीहरुका कारण विधिसम्मत चलेका सहकारीहरु पनि समस्या पर्ने देखिन्छ ।

सर्वसाधारण तथा संस्थाबाट बैङ्क तथा वित्तीय संस्थाहरूले भुक्तान गर्ने गरी निर्धारित शर्तमा सङ्कलन गरेको रकमलाई निक्षेप भनिन्छ । यो भुक्तान नहुनु भनेको राम्रो होइन । निर्धारीत समयमा भुक्तान हुनुपर्छ र गरिनु पर्दछ । तर एउटा सहकारीले बद्मासी गर्यो भनेर एउटै नजरले सबै सहकारीहरुलाई हेर्नु जायज हुँदैन । निक्षेप संकलन गरेर सहकारीहरुले लगानी पनि गरेकाहुन्छन् । यसर्थ लगानी नउठेसम्म सहकारीले रकम फिर्ता दिन सक्दैन । यसर्थ सहकारीमा राखेको रकम जोखिम हुन्छ भनेर अहिले नै आत्तिनु र डराउनु हुँदैन । तर आफुले राखेको रकम कति सुरक्षित ठाँउमा राखेको छु भन्ने बिषयमा भने जानकार हुनु पर्दछ ।

सहकारीहरुले अधिकतम रुपमा अहिले १६ प्रतिशतभन्दा बढि ब्याजदरमा लगानी गर्न नपाउने ब्यवस्था रहेको छ । तर कतिपय सहकारीहरुले २० प्रतिशतसम्म ब्याज दिन्छौ भनेर रकम संकलन गरेको पनि पाईएको छ । यसले गर्दा सिधै जोखिम धेरै हुने देखिन्छ । यस बिषयमा सहकारीका सदस्य तथा सहकारीमा बचत गर्ने बचतकर्ताहरुले ध्यान पुर्याउन आवश्यक देखिन्छ । नबुझि सहकारीमा गएर बचत गर्ने र बचत गरेको अत्तालिएर झिक्ने गर्दा यसले जोखिम बढाउछ । यसले सहकारी क्षेत्रलाई दुर्बल बनाउछ ।

दमकमामा पनि नाफा कमाउने कम्पनी जसरी सहकारी खोल्ने र सर्वसाधरणको निक्षेप भेला गरेर सिमित समुह तथा ब्याक्तिलाई करोडौ लगानी गर्ने सहकारीहरु पनि रहेकाछन् भन्ने आइरहेको छ  । यस्ता सहकारीहरु जुनसुकै समयमा पनि जोखिममा पर्न सक्छन् । सिमित समुह वा ब्याक्तिलाई करोडौ लगानी गर्ने र त्यसमा सहकारीका उपल्लो कर्मचारी तथा सञ्चालक शेयर बस्ने गरेको समेत देखिन्छ । यसले जोखिम ननिम्त्याएर के हुन्छ त ? सदस्यमा आधारित रहेर कारोबार गरेका सहकारी जोखिममा छैनन् र रहदैनन् भन्ने लाग्छ । तर जुन सहकारीले सहकारीको मर्म र भावाना बिपरित कमाउ धन्दामा लागेकाछन् ति सहकारी ढिलो चाँडो ताला लाग्नेछन् । त्यस्ता सहकारीमा राखेको निक्षेप जोखिममा पर्नेछ ।

बढी ब्याज दिने लोभमा बचतकर्ता सहकारीप्रति आकर्षित हुनु तर सहकारीको वित्तीय स्वस्थ्यताप्रति उनीहरू चनाखो नरहनु र सहकारीका सञ्चालक तथा कर्मचारीले कार्यक्षेत्र बाहिर गई कारोबार गर्ने कार्यले पनि सहकारीहरु जोखिममा रहेको देखिन्छ । सोझा सिधा जनताले खाईनखाई जम्मा गरेको रकम यसरी नै सञ्चालकहरूले अपचलन गर्दै जाने हो भने आगामी दिनमा सहकारीप्रतिको आस्था तथा विश्वास मर्नेछ । यसमा गम्भिर हुनुपर्छ ।

कतिपय सहकारी संस्थाहरूमा सुशासन अत्यन्त कमजोर रहेको, संस्थामा रहेका समिति–उपसमितिहरूले काम गर्न नसकेकाले सदस्यको बचत रकम मागेको बखत फिर्ता गर्न नसक्ने अवस्था आएको पनि भेटिन्छ । अधिकांश सहकारी संस्थाहरू तत्कालीन सहकारी ऐन, २०४८ तथा हालको सहकारी ऐन, २०७४ अन्तर्गत दर्ता भई सञ्चालनमा रहेका छन् । सहकारी विभागको पछिल्लो तथ्यांकअनुसार हाल बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, श्रमिक, सेवालगायत देशमा करिब २९ हजारभन्दा बढीको संख्यामा सहकारी संस्थाहरू रहेकाछन् । यि मध्ये केहिमात्र अहिले ताला लगाएर भागेकाछन् । यसर्थ सहकारी सबै खराबै हुन् र खराबै हुन्छन् भन्ने सोच्नु हुन्न ।

आर्थिक उन्नती र गरिबी निवारणमा सहकारीले दिएको योगदान महत्वपुर्ण छ । सहकारीले सहकारी जसरी चलेमा यसको महत्व धेरै नै छ । तर सहकारीहरु कमाउनका लागि खोलिएका कम्पनी तथा ब्यवसायीक पसल बन्न खोज्दा समस्या आइरहेको प्रष्ट भन्न र देख्न सकिन्छ । यो सहकारी क्षेत्रका लागि चुनौतीको बिषय हो । आफुले दुख गरेर कमाएको रकम राख्ने सहकारीको ब्याज वा सेवासंगै त्यहाँका सञ्चालक तथा कर्मचारीहरुको बिषयमा पनि बुझ्न जरुरी छ । आम सहकारीका सदस्यहरुले आफ्नो सहकारीको सुक्ष्म अध्ययन गर्न आवश्यक छ ।

हालैका समयमा तरलताको समस्याले समेत सहकारीहरूलाई अप्ठ्यारो स्थितिमा पु¥याएको देखिएको छ । बचत र कर्जाको सामञ्जस्यता मिलाउन नसक्ने सहकारीहरू पैसा फिर्ता गर्न सक्ने अवस्थामा रहेका देखिँदैनन् । हालैका समयमा तरलताको समस्याले समेत सहकारीहरूलाई अप्ठ्यारो स्थितिमा पुर्याएको देखिएको छ । बचत र कर्जाको सामञ्जस्यता मिलाउन नसक्ने सहकारीहरू पैसा फिर्ता गर्न सक्ने अवस्थामा रहेका देखिँदैनन् । सहकारी संस्थाहरूमा आन्तरिक नियन्त्रण प्रणाली अत्यन्त कमजोर हुनु र दोस्रोमा नियामक निकाय प्रभावकारी नहुदा पनि समस्या भएको देखिन्छ ।

सहकारीको नियमन र अनुगमन पनि स्थानीय, प्रदेश र संघीय सरकारको क्षेत्राधिकारभित्र राखेर ठुलो कमजोरी भएको छ । कुनै सहकारीको सेवा केन्द्र आफ्नो पालिकामा खुल्छ भने त्यसलाई सो पालिकाले नियमन तथा अनुगमन गर्न पाउनुपर्छ । उप्रति स्थानीय सरकारले अनुगमन गर्नुपर्छ । स्थानीय जनताको निक्षेपको सुरक्षा गर्ने दायित्व स्थानीय सरकारको पनि हुनुपर्दछ । स्थानीय सरकारले सहकारी बुझेका र जानेकाहरुलाई सहकारी शाखामा राख्न जरुरी छ । जसले सहकारीको बद्नियत थाहा पाएर सच्याउन सकुन र सच्याउन नचहानेलाई कार्वाही गरेर निक्षेप फिर्ता गर्न सक्ने वातवरण बनाउन । यसतर्फ ध्यान जान आवश्यक छ ।