सिक्किमको राजनीति ! शुरुदेखि अहिलेसम्मका लोकसभा र राज्यसभा सांसदहरुको लेखाजोखा !
बिरेन्द्र ताम्लिङ
सन् १९७५ मई १६ तारिख हाम्रो देश सिक्किम भारत देशमा राज्यको रूपमा विलय भए देखि यता केन्द्र सरकारमा नेतृत्व गर्ने माथिल्लो सदन राज्य सभावाट एक सीट र तल्लो सदन लोक सभाको निम्ति एक सीट जम्मा दुई सीटमा सिक्किम राज्यले केन्द्र सरकारमा प्रतिनिधित्व गर्छ भने देशलाई प्रतिनिधित्व गर्ने लोक सभा सांसदहरुको संख्या संविधानिक प्रावधान अनुसार ५५० सांसद हुने छन् , ५३० विभिन्न राज्यवाट अनि २० सांसद केन्द्र शासित राज्यवाट चुनिएर प्रतिनिधित्व गर्ने छन् तर अहिले केवल ५४३ सांसदहरु विभिन्न राज्य अनि केन्द्र शासित राज्यहरुवाट चुनिएर आएर केन्द्र सरकारमा प्रतिनिधित्व गर्ने छन् । संसदको माथिल्लो सदन राज्यसभामा बिधान सभावाट बिधायकहरुको बहुमतद्वारा अप्रत्यक्ष रुपमा चुनिएर ६ वर्षको निम्ति केन्द्र सरकारमा प्रतिनिधित्व गर्छ भने तल्लो सदन लोक सभाको निम्ति प्रत्यक्ष रुपमा चुनाउ लडेर ५ वर्षको निम्ति केन्द्र सरकारमा राज्यको निम्ति प्रतिनिधित्व गर्छ ।
हाम्रो देश सिक्किम भारत देशमा विलय भएपछि १९७७ सालको बिधान सभा र लोक सभाको आम चुनाउ सिक्किमको निम्ति पहिलो चुनाउ थियो भने भारत देशको छैठाै लोक सभाको निम्ति आम चुनाउ थियो यस चुनाउमा पहिलोपटक सिक्किमले अंशग्रहण गर्ने मौका पाएको थियो र श्री छत्र बहादुर छेत्री ईन्डियन नेसनल कांग्रेसवाट पहिलोपल्ट सिक्किमको संसद्को रूपमा निर्विरोध चयन भएर देशको सांसदमा प्रतिनिधित्व गरेका थिए ।
सन् १९७७ सालको २४ मार्चमा सम्पन्न भएको लोक सभाको चुनाउमा सिक्किमको जम्मा १,२४०२३ मतदाताहरु थिए, त्यसमा पुरुष मतदाता ६४,६८२ भने ५९,३४१ स्त्री मतदाता थिए भने पोलिङ बूथ १ मात्र थियो । नामांकन पत्र भर्नेमा पुरुष ७ र १ स्त्री गरेर जम्मा ८ जनाले नामांकन पत्र भरेका भए पनि ६ पुरुष र १ स्त्री उम्मेदवारको नामांकन पत्र रद्द भए पछि ईन्डियन नेसनल कांग्रेसका उम्मेदवार श्री छत्र बहादुर छेत्री निर्विरोध निर्वाचित हुन सक्षम भएका थिए । देशमा १८औ लोक सभा चुनाउ सम्पन्न भईसकेको छ भने सिक्किम राज्यमा १४औ लोक सभाको चुनाउ सम्पन्न भईसकेको छ , त्यस मध्येमा श्रीमती दिल कुमारी भण्डारी १९८५ र १९९१ गरेर दुईपल्ट सिक्किम संग्राम परिषद पार्टीवाट निर्वाचित हुनु भएको थियो, श्री भिम प्रसाद दाहाल एसडीएफ पार्टीवाट १९९६, १९९८, १९९९ जम्मा तीनपल्ट र श्री प्रेम दास राई २००९, २०१४ गरेर दुई पल्ट अनि डा. इन्द्र हाङ सुब्बा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीवाट २०१९ र २०२४ गरेर दुईपल्ट निर्वाचित भईसकेका छन् । स्व° श्री छत्र बहादुर छेत्री १९७७ (आईएनसी), स्व°श्री पहल मान सुब्बा १९८०(एसजेपी), स्व.श्री नर बहादुर भण्डारी १९८४ (स्वतन्त्र), श्री नन्दु थापा १९८९ (एसएसपी), श्री नह्कुल दास राई २००४ (एसडीएफ) एक /एक पल्ट निर्वाचित भएका थिए ।
गत २७ जुन २०२४ को दिन सिक्किमको पहिलो निर्वाचित सांसद स्व. श्री पहल मान सुब्बाज्युको ९० वर्षको उमेरमा निधन भएको छ भने सन् १९७७ साल देखि २०२४ सालसम्ममा जम्मा ९ जना सांसद सदस्य/सदस्या मध्येमा स्व. श्री छत्र बहादुर छेत्री (आईएनसी), स्व.श्री नर बहादुर भण्डारी (स्वतन्त्र), स्व. श्री भिम प्रसाद दाहाल (एसडीएफ) स्व. श्री पहलमान सुब्बा (एसजेपी) गरेर जम्मा ४ जना सांसद सदस्यहरुको पनि निधन भईसकेको छ । सन् १९८० को आम चुनाउमा सिक्किम जनता परिषदका उम्मेदवार स्व.श्री पहलमान सुब्बाज्युले ३१,७५० मत प्रतिशतमा ६१.६५% मत ल्याएर विजयी भएर पहिलो निर्वचित लोक सभा सांसद सदस्यको रूपमा चुनिएका थिए भने उहाँको निकटतम प्रतिद्वन्दी सिक्किम कांग्रेस (आर) पार्टीका उम्मेदवार श्री राम चन्द्र पौडेलज्युले ११,६३२ मत अथवा २२.५९% मत प्राप्त गरेका थिए । सन् १९८४ को आम चुनाउमा स्वतन्त्र उम्मेदवार स्व. श्री नर बहादुर भण्डारीज्युले ५६,६१४ मत अथवा प्रतिशतमा ६८.५०% मत ल्याएर विजयी भएका थिए भने निकटतम प्रतिद्वन्दी ईन्डियन नेसनल कांग्रेसका उम्मेदवार स्व° श्री पहल मान सुब्बाज्युले २१,३२७ मत अथवा प्रतिशतमा २५.८१% मत ल्याएका थिए, त्यसरी नै सन् १९८९ को आम चुनाउमा सिक्किम संग्राम परिषद पार्टीका उम्मेदवार श्री नन्दु थापाज्युले ९१,६०८ मत अथवा प्रतिशतमा ६८.५२% मत ल्याएर विजयी भएका थिए भने उहाँको निकटतम प्रतिद्वन्दी ईन्डियन नेसनल कांग्रेसका उम्मेदवार श्रीमती दिल कुमारी भण्डारीज्युले २८,८२२ मत अथवा प्रतिशतमा २१.५६% ल्याएका थिए ।
सन् १९९१ को आम चुनाउमा सिक्किम संग्राम परिषद पार्टीका उम्मेदवार श्रीमती दिल कुमारी भण्डारीज्युले १०३,९७० मत अथवा प्रतिशतमा ९०.१२% प्रचण्ड मत ल्याएर विजयी हुनु भएको थियोे भने उहाँको निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार स्व. श्री फुर छिरिङ लेप्चाले ३,७५९ मत अथवा प्रतिशतमा ३.२६% मत मात्र ल्याउन सक्षम बनेका थिए । सन् १९९६ को आम चुनाउमा सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीका उम्मेदवार स्व° श्री भिम प्रसाद दाहालज्युले १२४,२१८ मत अथवा प्रतिशतमा ७२.१५% ल्याएर विजयी भएका थिए भने उहाँको निकटतम प्रतिद्वन्दी सिक्किम संग्राम परिषद पार्टीका उम्मेदवार स्व° श्री नर बहादुर भण्डारीज्युले ४२,१७५ मत अथवा प्रतिशतमा २४.५०% मत प्राप्त गरेका थिए ।
सन् १९९८ को आम चुनाउमा एसडीएफ पार्टीका उम्मेदवार स्व श्री भिम प्रसाद दाहालज्युले १०२,४४० मत अथवा प्रतिशतमा ६५.७२% मत प्राप्त गरेर विजयी भएका थिए भने उहाँको निकटतम प्रतिद्वन्दी ईन्डियन नेसनल कांग्रेस पार्टीका उम्मेदवार स्व. श्री सन्चमान लिम्बुज्युले ५६,६११ मत अथवा प्रतिशतमा ३३.११% मत प्राप्त गरेका थिए त्यसरी नै सन् १९९९ को आम चुनाउमा एसडीएफ पार्टीका उम्मेदवार स्व. श्री भिम प्रसाद दाहालज्युले १०७,८२८ मत अथवा प्रतिशतमा ५२.५६% मत प्राप्त गरेर विजयी बनेका थिए भने उहाँको निकटतम प्रतिद्वन्दी एसएसपी पार्टीका उम्मेदवार श्री सतिस चन्द्र राईज्युलाई ८६,४६६ अथवा प्रतिशतमा ४२.१५% मत प्राप्त गर्नु भएको थियोे ।
यहाँ खसै भन्नेमा एसडीएफ पार्टीको उम्मेदवार स्व. श्री भिम प्रसाद दाहालज्युको मतको प्रतिशतलगातार ओरालो लागेको रेकर्डमा देखिन्छ १९९६ सालको चुनाउमा ७२.१५%, मत प्राप्त थियो भने १९९८ को चुनाउमा ६५.७२% मात्र प्राप्त भयो र ६.४३% ले मुनि झर्यो, १९९९ को चुनाउमा ५२.५६% मत प्राप्त भयो र १३.१६% ले मुनि झर्यो तर २१औ शताब्दीमा प्रवेश गरेर २००४ सालको आम चुनाउमा भने एसडीएफ पार्टीको उम्मेदवार श्री नह्कुल दास राईज्युले १५३, ४०३ मत अर्थात ६९.८४% मत ल्याएर १७.२८% ग्राफ उकालो चडेको देखिन्छ भने उहाँको निकटतम प्रतिद्वन्दी ईन्डियन नेसनल कांग्रेसका उम्मेदवार स्व. श्री बिराज अधिकारीज्युले ६०,२५८ मत अथवा २७.४३% ल्याएर पछिल्लो चुनाउमा ईन्डियन नेसनल कांग्रेस पार्टीको उम्मेदवारले ल्याएको मत भन्दा २२.६७% ज्यादा मत ल्याएको रेकर्डले देखाउछ ।
सन् २००९ को आम चुनाउमा एसडीएफ पार्टीको उम्मेदवार श्री प्रेम दास राईज्युले १५९,३५१ मत अर्थात ६३.५०% मत प्राप्त गरेका थिए भने अघिल्लो चुनाउमा एसडीएफ पार्टीका उम्मेदवारले प्राप्त गरेको मत भन्दा ६.५४% मत तल झर्यो भने उहाँको निकटतम प्रतिद्वन्दी ईन्डियन नेसनल कांग्रेसका उम्मेदवार श्री खडा नन्द उप्रेतीज्युले ७४,४८३ मत अर्थात २९.५९% मत प्राप्त गरेर अघिल्लो चुनाउमा कांग्रेस पार्टीका उम्मेदवारले प्राप्त गरेको मत भन्दा २.१६% मतले माथि उक्लेको रेकर्डले देखाउँछ ।
त्यसरी नै सन् २००९ को आम चुनाउमा एसडीएफ पार्टीका उम्मेदवार श्री प्रेम दास राईज्युले १६३,६९८ मत अथवा ५२.९८% मत ल्याएर विजयी भए पनि २००९ को चुनाउमा आफैले ल्याएको मत भन्दा १०.३२% कम्ती मत ल्याएको रेकर्डले देखाउँछ भने निकटतम प्रतिद्वन्दी एसकेएम पार्टीका उम्मेदवार श्री टेकनाथ ढकालज्युले १२१,९५६ मत अथवा ३९.४७% मत ल्याएका थिए ।
सन् २०१९ को आम चुनाउमा एसकेएम पार्टीका उम्मेदवार डा. इन्द्र हाङ सुब्बाज्युले १६६,९२२ मत अथवा ४७.२३% मत ल्याएर विजयी भए भने २०१४ को चुनाउमा एसकेएम पार्टीले पाएको मतको ग्राफलाई हेर्दा ७.७६% ले माथि पुर्याएको देखिन्छ भने निकटतम प्रतिद्वन्दी एसडीएफ पार्टीका उम्मेदवार श्री डेक बहादुर कटवालज्युले १५४,४८९ मत अथवा ४३.७१% मत ल्याएका थिए भने २०१४ मा एसडीएफ पार्टीले पाएको मत भन्दा ९.२७% कम्ती मत ल्याएको रेकर्डमा देखिन्छ, यस आकडाले यो बुझाउँछ एसडीएफ पार्टीप्रति जनताको बिस्वास अनि जनाधार दिन/ दिनै घटदै गईरहेको प्रष्ट देखिन्छ, त्यस्तै प्रकारले १९ मई २०२४ को दिन सम्पन्न भएको १८औ लोक सभाको आम चुनाउमा एसकेएम पार्टीका उम्मेदवार डा. इन्द्र हाङ सुब्बाज्युले १६४,९२२ मत अथवा ४२.७१% मत पाएर विजयी बने पनि २०१९ को चुनाउमा पाएको मत भन्दा २,५२६ मत तथा प्रतिशतमा ५.४२% मत २०२४ को चुनाउमा भन्दा कम्ती मत ल्याएका छन् , यता २०१९ को बिधान सभा चुनाउमा एसकेएम पार्टीले ४७.०३% मत प्राप्त गरेको थियोे भने ११औ बिधान सभा चुनाउमा एसकेएम पार्टीलाई ५८.३८% अर्थात २०१९ को चुनाउमा भन्दा २०२४ को चुनाउमा ११.३५% ज्यादा मत एसकेएम पार्टीलाई प्राप्त भएको छ ।
यस माथिको परिणामलाई लिएर एसकेएम पार्टीले गम्भीर चर्चा साथै समिक्षा गरेर अझ सकरात्मक रूपमा अघि बडनु पर्ने अवस्था देखिन्छ । विजयी सांसद डा.इन्द्र हाङ सुब्बाज्युको निकटतम प्रतिद्वन्दी सिटीजन एक्सन पार्टी -सिक्किम (CAP-S) पार्टीका उम्मेदवार श्री भरत बस्नेतज्युले ८३,५६६ मत अथवा २१.७१% मत ल्याएर दोस्रो स्थान ओघटेको छ भने एसडीएफ पार्टीको उम्मेदवार श्री प्रेमदास राईज्युले केवल ७७,१७१ मत अर्थात २०.०५% मत ल्याएर तेस्रो स्थानमा पुगेका छन् भने २०१९ को चुनाउमा एसडीएफ पार्टीलाई प्राप्त भएको मत भन्दा २३.६६% ग्राफ मुनि झरेको आकडाले देखाउँछ ।
यसपाली २०२४ को चुनाउमा बिजेपीले ४.९५%, मत प्राप्त गरेर २०१९ को चुनाउमा प्राप्त मत भन्दा ०.२६% माथि उक्लेको देखिन्छ भने एसआरपी १.२५%, आईएनसी ०.५८%, स्वतन्त्र ८.०८%, मत प्राप्त भएको थियोे भने नोटामा ०.६६% मत गएको छ भने विभिन्न केन्द्रिय अनि आन्चलिक पार्टीका ६ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरेर जम्मा १४ जना उम्मेदवारहरु लोक सभाको चुनाउको मैदानमा उत्रेका थिए ।
देशको माथिल्लो सदन राज्य सभामा जम्मा २५० सीट आरक्षित हुन्छ भने २३८ सदस्य/सदस्या विभिन्न राज्यको बिधान सभा र केन्द्र शासित राज्यवाट अप्रत्यक्ष रूपमा चुनिएर आउँछन् भने १२ जना सदस्य/सदस्याहरु विभिन्न बिधामा पारङ्गत ब्यक्ति विशेषलाई महामहिम राष्ट्रपतिद्वारा मनोनित गरिन्छ । सिक्किमवाट सन् १९७५ साल देखि २०२४ सम्ममा जम्मा ८ जना राज्य सभा सांसद चुनिएर गईसकेका छन् । (१) श्री लिओनार्द सोलोमन सेरिङ्ग (आईएनसी) २० अक्टोबर १९७५ – १९ अक्टोबर १९८१ अनि २० अक्टोबर १९८१ – १९ अक्टोबर १९८७ दुईपल्ट, (२) खामसुम नामग्याल पुलगर (एसएसपी) २० अक्टोबर १९८१ – १९अक्टोबर १९८७, (३) श्री कर्मा तोब्देन (आईएनसी) ३० मार्च १९८८- १९ अक्टोबर १९९३ फेरि २४ फेब्रुअरी १९९४ – २३ फेब्रुअरी २००० दुईपल्ट (४) श्री केजि भुटिया (एसडीएफ) २४ फेब्रुअरी २००० – १२ अगस्त २००० (५) श्री पाल्देन छिरिङ ग्यामछो (एसडीएफ) २२ सेप्टेम्बर २००० – २३ फेब्रुअरी २००६ (६) श्री ओटी लेप्चा (एसडीएफ) २४ फेब्रुअरी २००६ – २३ फेब्रुअरी २०१२ (७) श्री हिस्से लाचुङपा (एसडीएफ) २४ फेब्रुअरी २०१२ – २३ फेब्रुअरी २०१८ (८) श्री डीटी लेप्चा (विजेपी) २४ फेब्रुअरी २०२४ – २३ फेब्रुअरी २०३० सम्मको लागि निर्विरोध चुनिएर गएको छ ।
सिक्किमको माथिल्लो सदन राज्य सभाको सदस्य/सदस्या हुनको निम्ति भुटिया – लेप्चा (बिएल) समुदायवाट हुनै पर्छ भन्ने छैन अनि आरक्षित पनि छैन तर माथिल्लो सदन राज्य सभा र तल्लो सदन लोक सभामा जातीय समीकरण मिलाएर पठाउँदा राज्य सभामा अहिलेसम्म भुटिया – लेप्चा (बिएल) समुदायवाट चुनिएर गईरहेकाछन् भने अहिलेसम्म एकै जना पनि नारी राज्य सभा सदस्या चुनिएर गएको रेकर्डमा छैन । सांसदको काम भनेको राज्य सरकार र केन्द्र सरकारबीच सम्वन्य तथा सुम्धुर सम्बन्ध बनाई राख्ने, कतिपय केन्द्रिय योजनाहरु राज्यमा लागु हुने विषयमा विभिन्न मन्त्रालयमा पत्रचार अथवा खोजी गर्ने अनि राज्य र राज्यवासीको अहम मुद्दाहरुलाई संसदमा पेचिलो पाराले उठाउनु पर्ने, सम्बन्धित मन्त्रालयका माननीय मन्त्री अथवा सम्बन्धित अधिकारीहरुलाई झक्झकाउने जति सक्दो मुद्दालाई सफल तुल्याउनु प्रायः जस्तो वरिष्ठ सांसदहरुसँग समन्वय बनाई राख्ने, संसदको पटलमा ल्याइएका बिलहरु राज्य र राज्यवासीको निम्ति फाइदाजनक भएमा समर्थन गर्ने र नोक्सान गर्ने खालका भएमा जोडदार बिरोध गर्ने विशेष सांसदको काम देखिन्छ, अनि सांसद स्थानीय क्षेत्र विकास योजना अथवा (MPLADS) यो योजना राशि मार्फत रु ५ करोडको हिसाबले प्रतिवर्ष प्रत्येक राज्यसभा र लोकसभा सांसदले आफ्नो क्षेत्र बिकासको निम्ति पाउने गर्छ, यो योजना २३ डिसेम्बर १९९३ देखि देशमा लागु भएको हो र सांसदलाई आफ्नो क्षेत्रको बिकासको निम्ति जहाँ मन लाग्यो त्यही त्यो राशि खर्च गर्नु सक्छ ।
यी माथिको विषयहरुमा समय-समयमा राज्यको आफ्नो नेतालाई अवगात गराउनुको साथै राज्यवासीहरुलाई समय-समयमा पत्रकार सम्मेलन या कुनै प्रविधि मार्फत सुचित गरेमा के कति सांसदले काम गरिरहेको छ त्यो राज्यवासीहरुलाई थाहा हुन सक्छ र त्यसै अनुरुप सांसदको कद बढने-घटनेमा निर्भर गर्छ । अहिलेसम्मको रेकर्डमा श्रीमती दिल कुमारी भण्डारीज्युले लोक सभा चुनाउमा प्राप्त गर्नु भएको प्रचण्ड मतको प्रतिशत ९०.१२% लाई कुनै पनि सांसदले तोडनु सकेको छैन र अहिलेसम्म यो रेकर्ड कायमै छ, अहिलेसम्मको एक्लो नारी सांसद र उहाँले संसदमा लडेर सम्पुर्ण सांसदहरुसंँग सुम्धुर सम्बन्ध अथवा समन्वय राखेर नेपाली भाषालाई संविधानको आठौ अनुसूचीमा अन्तर्भुक्त गराउनु भयो, अहिले सम्ममा यो एक एतिहासिक काम भएको छ ।
नेपाली भाषाको मान्यतालाई अक्क्षुण राख्दै एसकेएम पार्टीद्वारा १७ औ र १८औ लोक सभामा निर्वाचित सांसद डा. इन्द्र हाङ सुब्बाज्युले नेपाली भाषामा शपथग्रहण गर्नु भयो यो पनि ठुलो उप्लब्धी अथवा एक एतिहासिक कार्य भएको छ , यी बाहेक सिक्किमका धेरै बुद्धिजिवी भनौदाहरु राज्यवाट सांसद चुनिएर संसदमा पुगे तर कुनै एतिहासिक कार्य गरेको थाहा पाउन सकिएको छैन, तर भविष्यमा हुन्दै जान्छ होला भन्ने सिक्किमेली जनताले सोचेको छ । सिक्किम राज्यको धेरै राजनैतिक मुद्दाहरुमा सांसदहरुले संसदमा कुरा उठाएका छन् बहस गरेका छन् , धेरै आरोह-अवरोह र देखे-भोगेका छन् तर छिना-फाना हुन सकेको छैन अझै धेरै बाँकी नै छ र आउँदो दिनमा अझै नयाँ जटिल मुद्दाहरु संसदमा आउनु सक्छ । यी मुद्दाहरुमाथि भविष्यमा माननीय सांसदहरुवाट अहम भुमिका निर्वाह हुन्दै जान्छ भन्नेमा सिक्किमे नागरिकहरु आशावादी रहेका छन् ।
(बिरेन्द्र तामलिंग, सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टी उपाध्यक्ष (प्रभारी) प्रचार–प्रसार प्रभाग हुन् )
यो लेख र विचार लेखकका नीजि बिचारहुन् ।-सम्पादक