आहा ! लुक्ला विमानस्थल
लुक्ला । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको मुख्य प्रवेशद्वारा लुक्ला आफैमा पर्यटकीय आकर्षणको केन्द्र हो । अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण लुक्लाको स्थानीय जीवनशैली, रहनसहन र संस्कृतिसँगै त्यहाँको भौतिक पूर्वाधारले थप सुसज्जित तुल्याएको छ ।
लुक्ला भन्नासाथ आम मानिसमा त्यहाँको तेञ्जिङ् हिलारी (लुक्ला विमानस्थल) को स्मरण आउँछ । हुन पनि विश्वकै जोखिमयुक्त तर असाध्यै सुन्दर विमानस्थल लुक्ला विमानस्थल पर्यटकको आकर्षक गन्तव्य पनि हो । आकाशतिर मडारिएको कालो बादलको बाक्लो कुहिरो, हरिया मनमोहक डाँडाकाँडा, तलतिर दूधकोशीको सुशेली महाभारतको छातीमा अडिएको अलिकति समथर भित्तो । त्यसैमा सजिएको छ, लुक्ला विमानस्थल । विमानस्थलको जति आकर्षण छ, त्यति नै स्थानीय बस्ती बजारको सुन्दरता झल्काउँछ ।
विमानस्थलको छेवैमा पङ्तिबद्धजस्तै रहेको चिटिक्क सफा सुन्दर बजार । पासाङ ल्हामु गाउँपालिका वडा नं २ मा पर्ने लुक्ला विशिष्ठ पर्यटकीय क्षेत्र पर्छ । सगरमाथाको काखमा रहेको नाम्चे बजार लुक्लाबाट पदयात्रा गरेर जाँदाको मज्जा शब्दचित्रमा बयान गर्न सकिन्न । लुक्लाबाट एकदेखि दुई दिनको हिँडाइपछि नाम्चो बजार पुगिन्छ । नाम्चेबाट सगरमाथासहितका हिमालको दृश्यावलोकन गर्न पाइन्छ ।
राजधानी काठमाडौँबाट तारा एयरको विमानबाट करीब ३५ मिनेटको दूरीमा लुक्ला पुगेको ३२ जना पत्रकारको हुल विमानबाट ओर्लेदेखि नै मोबाइल र क्यामेरामा व्यस्त भए । मौसमले साथ लिएकाले पनि उनीहरु सकेसम्म सुन्दर तस्बीर कैद गर्नमा लागे । स्वदेशी तथा विदेशी पत्रकारको ठूलो समूह एकै पटक सायद पहिलो पटक हुनुपर्छ लुक्ला पुगेको । बिबिसिका सिर्जना श्रेष्ठ र एपी न्यूजका उपेन्द्रमान सिंह कस्सिएर क्यामेराको लेन्स तेर्साउँदै भने, “अमेजिङ लुक्ला सुन्दरताको बयान गर्ने शब्दै महङ्गो छ ।”
विमानस्थलको तस्बीर कैद गरेर बजार परिक्रमा गर्दैगर्दा सिन्ह्वाका पत्रकार सुनिल शर्मा स्थानीय चिटिक्क बजारको तस्बीर खिच्न व्यस्त देखिन्थे । उनले भने, “यो त मेरो दोस्रो लुक्ला भ्रमण हो । जति पटक आए पनि सधै नयाँ जस्तो लाग्छ ।” सगरमाथा सफाइ अभियानअन्तर्गत नाम्चे बजारमा आयोजित कार्यक्रममा सहभागी हुन केही दिनअघि पुगेका पत्रकार तथा व्यवसायीको टोली मात्र हैन लुक्ला बजारमा भेटिएका विदेशी पर्यटकलाई तस्बीर खिच्न भ्याइनभ्याइ थियो ।
आधिकारिक विवरण नभएपनि लुक्ला भएर वार्षिक ५० हजार स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेको बताइन्छ । जम्मा लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर रहेको लुक्ला विमानस्थल विश्वकै जोखिम विमानस्थलमा पर्छ । फराकिलो धावनमार्थ दुवैतर्फ अग्लो पहरोका बीचमा भएकाले यो विमानस्थलमा उडान भर्न निकै दख्खल भएका पाइलट चाहिन्छन् ।
स्थानीय होटल व्यवसायी राप्की छिरिङ शेर्पाका अनुसार लुक्लामा साना ठूला गरेर १०० भन्दा बढी पर्यटकीय होटल छन् । दुई हजार ५०० सम्म पर्टक धान्न सक्छन् । लुक्लाका ठूला र महङ्गा होटल दुई वटा एभरेष्ट समिट होटल र यति माउन्टेन होम छन् । लुक्लामा सिजनमा दैनिक रुपमा जहाजबाट ५८ र हेलिकप्टरबाट १७५ उडान हुने गरेको विमानस्थलका प्रबन्धक इमनाथ अधिकारीले जानकारी दिए ।
सिम्रिक एयरका व्यवस्थापक दावा तामाङका अनुसार विमानस्थलबाट एयर डाइनेष्टिक, अल्टिच्युट एयर, मनाङ एयर, समिट एयर, श्रीएयर, हेलि एभरेष्ट, माउन्टेन र प्रभु कम्पनीका हेलीकोप्टर तथा सिता, तारा र समिट एयरका विमानले लुक्लामा उडान भर्दै आएका छन् ।