२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने भएकाले आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा प्रविधिमा लगानी बढाउनुपर्ने खाँचो औँल्याइएको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्लो खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न बुधबारदेखि काठमाडौंमा शुरु भएको युवा वैज्ञानिक सम्मेलनका सहभागीले प्रविधिमा आधारित विकासले मात्र दिगो विकास सम्भव हुने धारणासमेत व्यक्त गरे ।

प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा विश्व वातावरण दिवसका अवसरमा आयोजित सो सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र जर्मनीका १०० भन्दा बढी युवा वैज्ञानिकको सहभागिता रहेको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्मेलनको उद्घाटन गर्दै विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने हुँदा यस क्षेत्रमा सरकारको लगानी बढाउनु पर्ने बताए । उनले पछिल्लो समय जल, जङ्गल र जमीनको दोहन कार्य बढ्दै जाँदा यसको असर वातावरण क्षेत्रमा परेकोमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्न सबै क्षेत्र गम्भीर बन्नुपर्नेमा जोड दिए ।
सम्मेलनबाट आएका निष्कर्ष र सुझावका आधारमा आगामी दिनमा सो प्रदेशलाई विज्ञान, प्रविधि, उद्योग, पर्यटन, वन, वातावरण, जयवायु परिवर्तनका क्षेत्रमा नीति निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । सम्मेलनमा नेपालका विभिन्न क्षेत्रमा कार्यरत ३५ युवा वैज्ञानिकले आफ्ना कार्यपत्र तथा आफूले गरिरहेका खोज तथा अनुसन्धानलाई प्रस्तुति दिनेछन् ।