विजयकुमार गच्छदारलाइ भ्रष्टचारको मुद्दा, कांग्रेसमा तरङ्ग,देउवा निवासमा आकस्मिक बैठक

काठमाडौं : कांग्रेस उपसभापति विजयकुमार गच्छदार बालुवाटार प्रकरण मुद्दा लागेपछि कांग्रेसमा भुइचालो गएको छ ।गच्छदारलाई साढे ९ करोडको विगोसहित अक्तियारले भ्रष्टाचारको मुद्दा दाएर गरेपछि कांग्रेसका शीर्ष नेताहरू सभापतिनिवास बूढानीलकण्ठमा आकस्मिक बैठकमा जुटेका छन् ।
छलफलका लागि कांग्रेसले कानूनविदहरूलाई समेत परामर्शका लागि बोलाएको छ । सभापति निवासमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू जुटेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यो सूचीमा कांग्रेस उपसभापति गच्छदारसमेत परेपछि नेपाली कांग्रेस तरंगित बनेको छ । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मुद्दा दायर भएकै दिन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक पूर्वाग्रह साधेर आफ्ना उपसभापतिमाथि मुद्दा लगाइएको प्रतिक्रिया दिएका थिए ।
त्यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अख्तियारको निर्णयले संशय उब्जाएको प्रतिक्रिया दिएका छन् ।