सलमानको उत्कृष्ट कमब्याक, ‘भारत’ ले कमायो सुरुकै दिन भारु ४२ करोड
मुंबई । बलिउड सुपरस्टार सलमान खानको चलचित्र ‘भारत’ ले सुरुको दिनमै ४२ करोडको व्यापार गर्न सफल भएको छ ।
‘भारत’ जून ५ अर्थात् इदबाट प्रदर्शित भैसकेको छ । चलचित्र प्रदर्शन भएकै दिन सलमानका फ्यान तथा समीक्षकले ‘भारत’ सलमानको अहिले सम्मकै उत्कृष्ट फिल्म रहेको प्रतिक्रिया दिएका थिए । यही सन्दर्भमा चलचित्रको पहिलो दिनको कमाइ पनि सार्वजनिक भएको छ । ‘भारत’ ले पहिलो दिनमा नै ४२.३० करोड भारु कमाउँदै सलमानको करियरमै सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ ।
यस अघि सन् २०१५ मा रिलिज भएको चलचित्र ‘प्रेम रतन धन पायो’ ले पहिलो दिनमा ४०.३५ भारतीय रुपैयाँ करोड कमाएको थियो । त्यस्तै ‘टाइगर जिन्दा हे’ ले ३४.१० करोड भारतीय रुपैयाँ र ‘सुल्तान’ ले ३६.५४ करोड भारतीय रुपैयाँ कमाएका थिए । यो सगथै सन् २०१९ मा पहिलो दिनमा सर्वा्धिक कमाइ गर्ने चलचित्रको रुपमा भारत बनेको छ । यो वर्ष प्रदर्शनमा आएका चलचित्रहरु मध्ये पहिलो दिन ‘कलंक’ ले २१. ६० करोड भारु, ‘केसरी’ ले २१.०६ करोड भारु, ‘गली ब्वाय’ ले १९.४० र ‘टोटल धमाल’ ले १६.५० करोड भारु कमाएका थिए ।
चलचित्र ‘भारत’ को कथा कोरियन चलचित्र ‘ओड टू माइ फादर’ बाट लिइएको हो । यो चलचित्रमा सन् १९४७ देखि २०१० सम्मको एक सामान्य व्यक्तिको जीवन यात्रालाई देखाइएको छ । यस फिल्ममा सलमान युवा अवस्थादेखि ७० वर्षीय सेतै कपाल फुलेको बूढो व्यक्तिसम्मको विभिन्न पाँचवटा अवतारमा देखिएका छ । सलमानसँगै चलचित्रमा अभिनेत्री कट्रिना केफ, सुनील ग्रोवर, दिशा पाटनी, ज्याकी श्राफको पनि महत्वपूर्ण भूमिकामा देखिएका छन् ।