दीपबिमको ४५ औँ पुण्यतिथिमा विविध कार्यक्रम
इलाम । पछिल्लो समय ‘न म नेपाली नै रहेँ, न विदेशी नै भएँ’ बोलको यो गीतमा सङ्गीत भर्दै थिए स्व मदन दीपबिम बस्नेत । अमेरिकामा भएको एक नेपाली साङ्गीतिक कार्यक्रममा गीत गाउँदागाउँदै ढलेका उनि उठ्न सकेनन् । उनलाई अस्पताल त लगियो तर, बचाउन सकिएन् । अस्पताल लगेको करीव एक महिनापछि उनको मृत्यु भएको घोषणा गरिएको थियो । शुक्रबार उनको निधन भएको ४५ औँ पुण्यतिथि हो । उनको गत वैशाख ९ गते मृत्यु भएको थियो ।
वरिष्ठ सङ्गीतकार स्व बस्नेतले एक हजार ५०० भन्दा धेरै गीतमा सङ्गीत भरेका छन । चार सय भन्दा धेरै गीत गाएका उनले २५० भन्दा बढी गीत रचना गरेका छन । त्यसैगरी, एक हजार जति गीतका भिडियोग्राफी समेत भएको छ । स्व दीपबिमले हजारौँ गीतमा नृत्य गरेको र सिकाएको समेत बताइन्छ ।
स्व दीपबिमले गाएको ‘झ्याम्मै चौतारी, माया लाउँ भने छैन दौँतरी’, ‘ढल्की गो पापी जोवन, ढल्की जाने जोवनलाई त्यसो नभन’ जस्ता गीतहरु चर्चित छन् । त्यस्तै, ‘झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा’, ‘के भूल भयो प्रिया मसँग बोल्दिनौं,’ लगायतका गीतमा उनले सङ्गीत भरेका छन । ‘तिम्रै यादमा कल्पि कल्पि’, ‘सुरिलो रुख सल्लै हो’, ‘भन्छन् सबै जिन्दगी यो डुबिजाने घाम जस्तै हो’ गीतहरु उनिद्वारा रचित हुन् ।
स्व बस्नेतले पहिलो पटक रेडियो नेपालमा २०२० सालमा गीत गाएका थिए । त्यतिबेला उनले अर्कैको गीत गाएका थिए । उनको लेखनको पहिलो गीत २०२६ सालमा आफ्नै श्रीमती गायिका शिबा बस्नेतले रेडियो नेपालमा गाएकी थिइन । त्यो हो – ‘वर्ष बितोस् युग बितोस् बितोस् जिन्दगी मेरो, तिम्रै माया तिम्रै प्यारमा बितोस् जिन्दगी मेरो’
स्व दीपबिमको सङ्गीत क्षेत्रमा ठूलो देन रहेको सङ्गीतकर्मीहरु स्मरण गर्छन् । इलाम संस्कृति सङ्गीत कला प्रतिष्ठानका अध्यक्ष देवी गौतमले भने, “उहाँले सङ्गीतमा जुन देन दिनुभयो, त्यो कहिल्यै भुल्न सकिँदैन ।” स्व बस्नेत गीत सङ्गीतको रोयल्टी उठाउनु पर्छ भनेर पहिलो पटक आवाज उठाउने सर्जक पनि हुन ।
विसं २००४ चैत्र २८ गते बुबा शिवबहादुर र आमा बिष्णुमाया बस्नेतका जेष्ठ सुपुत्रका रुपमा जन्मनुभएका उनि बाल्याकालदेखि नै सङ्गीतप्रति झुकाव राख्ने गर्थे । उनको मृत्युले परिवारमा मात्र हैन इलामेली र सम्पूर्ण सङ्गीतप्रेमीलाई समेत भावुक वनाएको इलाम नगरपालिकाका मेयर तथा स्व दीपबिमका भाइ महेश बस्नेतले बताए ।
आफ्नो समकालीन सङ्गीतकर्मी दीपबिमको चञ्चले स्वभावलाई सम्झने प्राज्ञ तथा सङ्गीतकार कोमल निरौला दीपबिम पूरै समय सङ्गीत दुनियाँमै तल्लीन रहेको बताउँछन ।
स्व दीपबिमको स्मृतिमा शुक्रबार उनकोे जन्मस्थल इलाममा पनि विविध कार्यक्रम गरिँदैछ । उनलाई श्रद्धाञ्जलि दिन शोकसभा गरिएको छ भने साँझ दीप प्रज्वलन गर्नेे कार्यक्रम छ । टीका खतिवडा, रासस