राजतन्त्र फेरि चाहियो भन्ने मुर्खका दिन गए : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिएको बताएका छन । शुक्रबार भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन गर्दै उनले मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय रहेको तर हिंसा र आतङ्कतर्फ उनिहरु सफल नहुने बताए । प्रधानमन्त्री ओलीले २०४ वर्ष देशलाई अँध्यारोमा राख्ने राजतन्त्र फेरि चाहियो भन्ने मुर्खसमेतको केही नलाग्ने बताए ।
प्रधानमन्त्री ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताए । उनले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको उल्लेख गर्दै प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउने बताए ।
काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सबैलाई देशमै रोजगारी दिने बताए । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको चर्चा गर्दै उनले देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आबद्ध भएका युवालाई साबेललगायत उपकरण हस्तान्तरण गरेका थिए ।