प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार युरोप भ्रमणमा निस्किएका हुन ।
प्रधानमन्त्री ओलीले सोमाबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी कार्यक्रमलाईसम्बोधन गर्ने कार्यक्रम छ ।
सो कार्यक्रममा विश्वका ४५ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने र ‘साइड लाइन’मा कतिपय नेतासँग प्रधानमन्त्रीको भेटवार्ता समेत हुनेछ । स्वीट्जरल्याण्डको भ्रमणपछि प्रधानमन्त्री ओली भोलि सोमबार नै बेलायत प्रस्थान गर्नेछन । बेलायतमा प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध अक्सफोर्ड यूनिभर्सिटीको युनियनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि प्रधानमन्त्री ओली हिजो राति दोहा पुग्नुहुँदा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका सरकारी अधिकारी तथा नेपाली दूतावासका कार्यबाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरूले स्वागत गरेका थिए ।