‘आरआरआर’को एक सिनको सुटिङमा मात्रै ४५ करोड खर्च
मुम्बई । दक्षिण भारतीय बहुचर्चित फिल्म बाहुबलीका निर्देशक एसएस राजामौलीले बाहुबलभिन्दा भव्य चलचित्र निर्माण गर्दैछन् । उनको आगामी चलचित्र ‘आरआरआर’को एक सिनको सुटिङमा मात्रै ४५ करोड खर्च हुनेछ जबकी बलिउडमा ४५ करोडमा पूरै फिल्म बनाउन सकिन्छ । केही त यसको पनि आधा बजेटमा पनि बन्ने गर्छन । तर, राजामौलीले एउटै दृश्यको लागि यति भव्य तरिकाले सुटिङ गर्ने तयारी गरेका छन् ।
यो दृश्यको लागि हजारौं फाइटरसँग करिब ६ महिनासम्म प्रि–भिजुअलाइजेशन र तालिम संचालन गरिएको छ । यो विशेष तयारीपछि पूर्ण रुपमा सुनिश्चित भएपछि मात्र निर्देशक राजामौली यसको शुटिङ गर्नको लागि तयार भएका छन् । यो दृश्य हैदराबादको एक आल्मुनियम फ्याक्ट्रीमा शुटिङ हुनेछ । दृश्यमा के हुन्छ भन्ने कुरामा निकै गोपनीयता अपनाइएको छ । अनुमान गरिएकोे छ कि त्यो फ्याक्ट्रीमा हिरोइनलाई छुटाउन दुई हिरोहरु आउँछन् र भिलेन तथा उसका हजारौं गुण्डाहरुसँग लड्छन् ।
जुलाइ महिनाभरीमा यो दृश्यको सुटिङ पूरा हुने अपेक्षा गरिएको छ । यसअघि पनि चलचित्रको केही दृश्यको शुटिङ हैदराबादको आल्मुनियम फ्याक्ट्रीमा भइसकेको छ । यो चलचित्रको कथा लेखनका लागि गरिएको अनुसन्धानमा करिब २ वर्षको समय लागेको बताइएको छ । फिल्म १० भन्दा धेरै भाषामा बन्नेछ । यो चलचित्र ३० जुलाइ, २०२० मा रिलिज हुनेछ । एजेन्सी