२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई प्रदेश सरकारले सम्मान गर्ने घोषणा गरेका छन । प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि सार्वजनिक वार्षिक नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सो घोषणा गरेका हुन ।
मुख्यमन्त्री राईले सङ्घीयता कार्यान्वयनको पहिलो वर्षमा संरचना निर्माण, कार्यालय स्थापना र कर्मचारीको व्यवस्थापनमा नै धेरै समय खर्च भएको यथार्थ हो भन्दै अगामी दिनमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्याक्रम पूर्णरुपमा कार्यान्वयन हुनेमा विश्वस्त रहन आग्रह गरे ।
उनले सुनसरीको धरानमा देखापरेको डेङ्गु रोगपीडितको निःशुल्क उपचारका लागि सरकारले ५० लाख विनियोजन गरिसकेको तथा रोग फैलिन नदिन थप ३० लाख बजेट विनियोजन भइसकेको जानकारी दिए ।

‘हाम्रो गौरव हाम्रै शान, सगरमाथा र केचनाले प्रदेशकै राख्छ उच्च मान’ अन्तर्गत झापाको केचनादेखि सगरमाथा आधार शिविरसम्म सडक यातायात परियोजनालाई अघि बढाइने बताउँदै मुख्यमन्त्री राईले नीति तथा कार्यक्रममा सदस्यले उठाएका असल सुझावलाई ग्रहण गरिने तथा प्रदेशको नामकरण सहमतिबाट नै टुङ्गो लगाइने बताए ।
नीति तथा कार्यक्रममाथिको छलफलमा २३ प्रदेशसभा सदस्यले भाग लिएका थिए ।