गायिका आनी छोइङ विवादास्पद : स्रोत नखुलेको १८ करोडमाथि अनुसन्धान शुरु
काठमाडौं । ‘फूलको आँखामा फूलै संसार’ गाएर चर्चित बनेकी गायिका आनी छोइङ डोल्मा विवादास्पद बनेकी छन । उनीमाथि स्रोत नखुलेको रकम पटकपटक नेपाल भित्राएकामा अनुसन्धान शुरु भएको छ ।
आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनिमय दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्राएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन ।
समाचार अनुसार, विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्ने कुनै पनि निकायलाई जानकारीसमेत नदिई करिब २० करोड रुपैयाँ उनले भित्र्याइसकेकी छन । पछि आउन खोजेको १८ करोडभन्दा बढी रुपैयाँ भने राष्ट्र बैंकले रोकिदिएको छ ।
आनीको बैंक खातामा तीनपटक आएको रकम मात्रै रोक्का भएको हो । रोक्का नभएको रकम भने उनले प्रयोग गरिसकेकी छन । आनीको खातामा हङकङका नागरिक लियाङ, चुङ, हाङ र जियोरीले पटक–पटक रकम जम्मा गरेको देखिन्छ । २०७५ वैशाख २७ गतेपछि आनीको नाममा रहेको मेगा बैंकको ००१००५००३९४२४ नम्बरको खातामा आएको सबै रकम राष्ट्र बैंकले रोक्का गरी अनुसन्धान अघि बढाएको हो । हङकङका नागरिकले वैशाख २६ गते ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर (६ करोड ४३ लाख ७७ हजार ७ सय ८० रुपैयाँ) जम्मा गरेका थिए ।
त्यसको भोलिपल्टै ५ लाख ३९ हजार ९ सय ८० अमेरिकी डलर (५ करोड ९९ लाख ३७ हजार ७ सय ८० रुपैयाँ) जम्मा गरे । फेरि अर्को दिन २०७५ वैशाख २८ गते ५ लाख २९ हजार ९ सय ८० अर्थात् ५ करोड ८८ लाख २७ हजार ७ सय ८० रुपैयाँ जम्मा भयो । अनुमति नलिई विदेशबाट भटाभट रकम आउन थालेपछि आनीको खाता रहेको मेगा बैंकले स्रोत खुलाउन भने पनि उनले स्रोत खुलाउन सकिनन् ।
राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले केही अध्ययन गरेपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेपछि आनीको खातामा आएको सो स्रोत नखुलेको रकममाथि छानविन सुरु भएको हो ।
यसैबीच प्रधानमन्त्री सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ । आनीले आफ्नो रकम रोकिएको दुई महिनापछि २०७५ साउनमा प्रधानमन्त्री ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रमका लागि एक करोड रुपैयाँ सहयोग गरेकी छन । प्रधानमन्त्री ओलीले तुइन विस्थापनको कार्यक्रम घोषणा गरेका थिए । नेपाल टेलिभिजनबाट प्रसारित हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा उपस्थित भई आनीले एक करोड रुपैयाँ सहयोग घोषणा गरेकी हुन । त्यसपछि प्रधानमन्त्री ओली र सचिवालयसँग आनी नजिक छिन ।
बौद्ध भिक्षुणी आनीले सन् २००० देखि आनीहरूका लागि काठमाडौंको फर्पिङमा आर्यतारा विद्यालय सञ्चालन गर्दै आएकी छन । तिब्बती शरणार्थी परिवारकी सदस्य आनी १३ वर्षको उमेरदेखि काठमाडौंको शिवपुरीस्थित नागी गुम्बामा बस्दै आएकी थिइन । गायिका र आध्यात्मिक ज्ञान प्रचारकका रूपमा चिनिन थालेपछि उनी हङकङ, भुटानलगायत विभिन्न देशमा धेरै समय बिताउन थालेकी छन । हाल उनी भुटानमा रहेकी छन् ।