२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

ललितपुर । ललितपुर प्रहरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादवलाई १८ वर्षीया आफ्नै छोरीमाथि जबरजस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ गरेको छ ।

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया छोरीलाई बारम्बार जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ । आफ्नै घरको तेस्रो तल्लाको कोठामा यादवले विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए ।

घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । विगत केहि समयदेखि यादवले छोरीलाई डरधम्की देखाई करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । १२ कक्षामा अध्ययनरत छोरीलाई बाबुले संवेदनशील अंगमा हातले छुने गरेको पाइएको छ । बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले थाहा पाए पनि घटना आफ्नै घरभित्रको भन्दै श्रीमानलाई चेतावनी दिँदै लुकाएकी प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरिएको एसएसपी धानुकले बताए ।