निगमको उडानबारे मन्त्रालय बेखबर
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानको ओसाका उडान गर्ने योजना डेढ महीनापछि धकेलिएको छ । निगमले आगामी असार १९ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने योजना बनाएको थियो ।
तर टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकुल रहेको भन्दै निगमले निर्धारित उडान तालिका परिवर्तन गरी आगामी भदौँ १२ गते (२९ अगष्ट २०१९) देखि नियमित उडान गर्ने तयारी गरेको छ ।
पर्याप्त यात्रु नभएकाले ओसाका उडान तालिका परिवर्तन गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले बताए । उनले भने, “जापानबाट उडान अनुमति पाएपछि आवश्यक तयारीका साथ टिकट बुकिङ खोलियो, एक महीनाको अवधिमा पाँच÷सात जना मात्र यात्रु भए, पर्यटकीय सिजन सकिएको र जापान जाने विद्यार्थीले पहिले नै अन्य एयरलाइन्सको टिकट लिइसकेकाले पनि यात्रु कम भएको हुनसक्छ । अब मनसुन सकिएपछि भदौ १२ गतेदेखि ओसाका उडान गर्ने गरी तयारी गरेका छौँ ।”
सहायक प्रवक्ता कोइरालाका अनुसार अहिलेकै अवस्थामा ओसाका उडाउँदा प्रति उडान दुईतर्फी काठमाडौँ–जापान एक करोडभन्दा बढी निगमले आर्थिक घाटा बेहोर्नुपर्छ ।
यता ओसाका उडान सरेको विषयमा नियामक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नै बेखबर छ । मन्त्रालयले के कति कारणले निर्धारित उडान स¥यो भनेर ताकेता पनि गरेको छैन । मन्त्रालयका एक उच्च अधिकारीले निगमको ओसाका उडानबारे अनविज्ञता प्रकट गरे । उनले भने, “जापानको ओसाका उडान सरेको बारे पत्रपत्रिका पढेर थाहा पाए । निगम भित्र के हँुदैछ, राम्रोसँग बुझ्न पाएको छैन, सञ्चालक समितिमा पनि यो विषय छलफल भएको छैन ।”
निगमको ओसाका उडानबारे मन्त्रालय र सञ्चालक समितिलाई जानकारी नगराइएका बारे सहायक प्रवक्ता कोइरालाले निगमको निर्णयबारे अनौपचारिक रुपमा जानकारी गराइएको दाबी गरे ।
जापानसहितका अन्य लामा गन्तब्यमा निगमका वाइड बडी उडानबारे अझै अन्यौलता रहेको छ । मन्त्रालयका अधिकारीलाई निगमका लामा गन्तब्यमा उडान भर्नेबारे प्रष्ट धारणा छैन । अनेकौ चुनौतीको सामना गर्दा गर्दै पनि निगमले आफ्नो आफ्नो व्यावसायिक योजनालाई भने निरन्तरता दिएको छ । उसले जापानसँगै चीन, साउदी अरेबिया, दक्षिण कोरियालगायत गन्तब्यमा उडान भर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।
काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाकोे छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तरर्रा्ष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।