धरानमा डेङ्गु नियन्त्रण बाहिर, मंगलबार मात्र ८९ थपिए
धरान । धरानमा डेङ्गु नियन्त्रण बाहिर गएको छ । मंगलबारसम्ममा एक हजार चार सय व्यक्तिको रगत परीक्षण गर्दा ४५७ डेङ्गु सङ्क्रमित देखिएका छन् । सोमबार ३६८ जना सङ्क्रमित रहेका थिए । मंगलबार एक दिनमा ८९ बिमारी थपिएका छन् ।
यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर मंगलबार सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईले अस्पताल प्रशासन र चिकित्सकहरुसँग छलफल गरेका छन । छलफलमा प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियार, अस्पताल निर्देशक डा गौरीशंकर साह, अस्पतालका सहायक निर्देशक डा विकास साह, ¥यापिड रेस्पोन्स टिमका संयोजक डा विजयकुमार खनाल, डा नारायण भट्टराई, सांसद राई, नेकपाका सुनसरी सचिव रमेश बस्नेतलगायत रहेका थिए ।
प्रतिष्ठानमा डेङ्गुसम्बन्धीका विज्ञ चिकित्सक भएकाले उपचारमा कुनै समस्या नभएको उपकुलपति प्रा डा रौनियारले जानकारी गराएका थिए । डेङ्गुको सेरोटाइपिङ(प्रकार) छुट्याउने मेसिन सहयोगका लागि अस्पतालको पहलमा अमेरिकाको एक युनिभर्सिटीलाई पत्राचार गरिएको प्रतिष्ठानले जनाएको छ ।
डेङ्गुको जिवाणु पत्ता लगाउन ल्याब टेष्टका लागि किट कम आउने गरेकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई सांसद राईले यसअघि नै प्रयाप्त किट पठाउन र आवश्क किट रिजर्भ राख्न सुझाएका थिए । अस्पतालका सहायक निर्देशक डा साहले धरान उपमहानगरलाई डेङ्गुको महामारी क्षेत्र घोषणा गर्न आग्रह गरे ।