सेप्टि ट्यांकीमा खस्दा चार बच्चाको मृत्यु
दार्चुला । नौगाड गाउपालिका ४, सिप्टीस्थित गणेश विनायक माविमा शौचालयको सेप्टिक ट्यांकीभित्र खसेर चार बालबालिकाको मृत्यु भएको छ । ट्यांकमाथि थुपारिएको माटोमा खेल्दाखेल्दै खसेर पुरिँदा ८ वर्षकी निरुता ठगुन्ना, १० वर्षीया अनुष्का धामी, ९ वर्षका सुदिश धामी र ५ वर्षकी युनिका ठगुन्नाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दिउँसो पढीवरी घर र्फकेका उनीहरु फेरी खेल्न विद्यालय गएका थिए ।
मंगलबार साढे ३ बजेतिर दुर्घटना हुँदा विद्यालय छुट्टी भइसकेको थियो । दिउँसो १ बजेपछि विद्यालय बन्द गरेर शिक्षकहरू बाटो लागेपछि नजिकै घर रहेका उनीहरू खेल्न गएका थिए ।
गणेश विनायक माविमा यही वर्ष सांसद विकास कोषको ४० लाख बजेटबाट उपभोक्ता समितिले खेल मैदान निर्माण गरेको छ । खेलमैदान सम्याउने क्रममा निकालिएको माटो पुरानो शौचालयको सेप्टि ट्यांकीमाथि थुपारिएको थियो । स्थानीयका अनुसार ५ वर्षदेखि प्रयोग विहिन शौचालयको सेप्टिक ट्यांकी करिब १२ फिट गहिरो थियो ।