पोखरामा गोली हानी लागुऔषध कारोबारी पक्राउ
पोखरा । प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन पोखरामा गोली चलाएको छ । पोखरा महानगरपालिका–१० को उत्तम चोकमा गोली हानेर ‘डिके’ भनिने ३० वर्षीय गोविन्द थापालाई नियन्त्रणमा लिएको हो ।
कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले थापाको बायाँ खुट्टामा गोली लागेको र उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जानकारी दिए । अन्य दुई जना भने भागेका उनले बताए ।
पोखराको उत्तमचोकमा रहेको एक क्याफेमा प्रहरीले उनीहरूलाई लागुऔषध लिएर हिँडेको विशेष सूचनाको आधारमा छापा हानेको थियो।
उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा उल्टै चिर्पटले हिर्काएर भाग्न खोजेपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले बताएको छ । चिर्पटले लागि घाइते भएको प्रहरी जवान सन्तोष सुवेदी पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज भएका छन ।
प्रहरीले उनीहरूको साथबाट १५ सय थान लागुऔषध बरामद गरेको जनाएको छ ।