२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ ।
आयोजना शुरु गर्दा ३५ अर्ब लागत रहेको सो आयोजनाको कूल लागत वृद्धि भई ७३ अर्ब ६८ करोड पुग्ने भएको छ । त्यसमा निर्माण अवधिको ब्याज मात्रै २१ अर्ब ७४ करोड पुग्ने भएको छ । सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको छ । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको ब्याजमा उल्लेख्य वृद्धि भएपछि कूल लागतमा समेत प्रभाव परेको हो ।

आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आगामी ११ असारमा हुने ११ औँ वार्षिक साधारणसभाका लागि तयार पारिएको आर्थिक वर्ष २०७४÷७५को प्रतिवेदनअनुसार निर्माण अवधिको ब्याजसहित आयोजनको लागत रु ७३ अर्ब ६८ करोड पुग्ने प्रक्षेपण गरिएको हो ।

आगामी पुसबाट परीक्षण उत्पादन शुरु गरी चैतभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्यका आधारमा आयोजनाको प्रक्षेपित लागत अनुमान कूल ५१ अर्ब ९४ करोड पुग्ने छ भने सो अवधिको ब्याज मात्रै २१ अर्ब ७४ करोड लाग्नेछ । सोही आधारमा पूँजीकरणसहित आयोजनाको कूल लागत वृद्धि हुने अनुमान गरिएको हो । प्रक्षेपित लागत हालको परिस्थितिसँग मिल्ने गरी यथार्थपरक रहेको कम्पनीले दाबी गरेको छ । आगामी चैतभित्र निर्माण सम्पन्न नभएमा आयोजनाको लागत अझै बढ्ने देखिएको छ ।

शुरुमा आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सम्पन्न भई विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । विसं २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका परकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रो मेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माणमा ढिलाइ भएको हो ।

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, निर्माण अवधि बढ्दा ठेक्का मूल्य समायोजन, विदशी विनिमय दरमा भएको नोक्सानीलगायतले आयोजनाको समग्र लागत वृद्धि भएको कम्पनीले जनाएको छ ।