पुरानो राज्य संरचनाका कारण काम गर्न सकिएन : अध्यक्ष दाहाल
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताएका छन । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले बुधबार चितवनमा आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनको बलले नयाँ नेतृत्वको सरकार आए पनि पुरानै राज्य संरचनाका कारण सोचेअनुसारको काम गर्न कठिन भएको बताए ।
हिजो राजाहरु निरङ्कुश हुँदा शुरु भएको स्कूल नभत्किएको भन्दै दाहालले भने, ‘यही स्कूल छ, राज्य संरचनाको स्कूल । पञ्चायतको बेलामा जे छ त्यही स्कूलमा चलेको छ ।’ नियम कानून पनि तिनै रहेको भन्दै उनले कानून बदलिँदा पनि काम गर्ने सोच, तरिका र शैली उही रहेको उल्लेख गरे ।
परिवर्तन पछि राजनीतिक नेतृत्वले जित्छ कि परम्परागत ढङ्गले चल्दै आएको राज्य संरचनाले जित्छ भन्ने थाहानै नपाई लडाइँ चल्ने गरेको उनको भनाइ थियो । राजनीतिक नेतृत्वले अब जित्न नसके मुलुक ठूलो दुर्घटनामा जाने दाहालले बताए ।
दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै उनले त्यसतर्फ सरकार अघि बढिरहेको भए पनि सफलता प्राप्त गर्न कठिन भइरहेको बताए ।
कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले पार्टी एकीकरणको प्रक्रिया ढिलो हुँदा नेता कार्यकर्ता एक वर्षदेखि बेरोजगार बनेका भन्दै छिटो टुङ्ग्याउन अध्यक्ष दाहाललाई आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारका जवान ओम सलामी मगरलाई २५ हजारसहित ताम्रपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा वर्ष व्यक्तित्व सम्मान २०७६ बाट वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा शारदा रानाभाट कुँवरलाई सम्मान गरिएको थियो ।