सुनकोशीमा पौडी खेल्दा बेपत्ता
सिन्धुली । सुनकोसी नदीमा पौडी खेल्ने क्रममा एक युवक बिहिबार बेपत्ता भएका छन् । सुनकोशी गाउँपालिका–२ दुम्जा नजिक सुनकोशीमा साथीसँगै पौडी खेल्ने क्रममा काठमाडौँको कीर्तिपुरका २५ वर्षीय अमृत लामा बेपत्ता भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
काठमाडौँबाट सिन्धुलीको कुशेश्वर महादेव मन्दिरको दर्शन गर्न पाँच जना साथीसँगै आएका लामा बेपत्ता भएका हुन् । उनको खोजी गर्न प्रहरी परिचालन गरिएको छ । लामासँगै पौडी खेल्न गएका अन्य भने पौडी खेलेर नदीबाट निस्किन सफल भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच जङ्गली हात्तीको आक्रमणबाट बिहिबार एक महिलाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट कमलामाई नगरपालिका–८ पातीपरानका ४५ वर्षीया सीतामाया रानामगरको मृत्यु भएको वडाध्यक्ष टीका मोक्तानले जानकारी दिए । सिन्धुलीमाढी बजारबाट घरायसी उपभोगका सामान किनेर घर फर्कँदै गरेकी रानामगरलाई हात्तीले घर नजिकै झोरामा आक्रमण गरेको थियो । जङ्गली हात्ती दैनिक गाउँमा पस्ने गरेको स्थानीयवासी चित्रनारायण श्रेष्ठले बताए ।