‘मुन्द्रे’ लाई ४५औं जन्मोत्सवको शुभकामना !
काठमाडौँ । हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ को आइतबार जन्मदिन परेको छ । २०३२ साल असार १ गते सिन्धुपाल्चोकमा पिता शशिधर नेपाल र माता योगमाया नेपालको कोखबाट कान्छोे सन्तानको रुपमा नेपाल जन्मिएका हुन् ।
टेलिभिजनमा ट्वाक्क टुक्क, सँगालो, मुक्ति, गीतान्जली हुँदै ‘जिरे खुर्सानी’मा नेपालले काम गरेका छन् । टेलिसिरियल ‘ट्वाक्क टुक्क’बाट टेलिभिजनमा ब्रेक लिएका जितुले हास्य कलाकारको रुपमा स्थापित हुनुभन्दा अगाडि केही सिनेमाहरुमा काम गर्ने अवसर पाएका थिए ।
तुलसी घिमिरेको निर्देशनमा १७ वर्ष अघि बनेको चलचित्र ‘दर्पण छायाँ’मा सहायक अभिनेताको रुपमा काम गरेपछि करिअरले नयाँ मोड लिएको नेपाल बताउँछन् । ‘दर्पण छायाँ’ भन्दा अगाडि उनले झण्डै १५ वटा चलचित्रमा काम गरेका थिए । तर ती सानातिना भूमिका थिए ।
चलचित्र ‘दर्पण छायाँ’ मा सहायक अभिनेताको रुपमा काम गरेपछि जितुले यसबाट मुख्य कलाकारको जस्तै सम्मान र स्थान पाएका थिए ।
जितु लाई ‘जिरे खुर्सानी’मा मुन्द्रेको रुपमा प्रस्तुत हुँदा दर्शकले मन पराए । मुन्द्रेको रुपमा चिनिएसँगै उनलाई देश विदेशमा स्टेज कार्यक्रमहरुको अफर आउन थाल्यो । मुन्द्रे बनेसँगै उनको व्यस्तता पनि उत्तिकै बढ्यो जुन अहिले पनि कायमै छ । पछिल्लो समय उनी मुन्द्रको कमेडी क्लब नामक हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
करिअरसँगै व्यक्तिगत जीवनलाई पनि व्यवस्थित गरेर अगाडि बढेका कलाकारमा जितुले परिवारकै सरसल्लाहमा १६ वर्ष अघि मुना राउत सँग मागी विवाह गरेका हुन् । यो जोडीको १३ वर्षीया छोरी र ११ वर्षीय छोरा रहेका छन् ।