२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौ । काठमाडौ प्रहरी परिसर, टेकुले ठगीमा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नाताले काका–भतिजा पर्ने सिन्धुपाल्चोकको बाह्रविसेका जितबहादुर तामाङ र रामबहादुर तामाङ छन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरुले नयाँ बसपार्क, बौद्धलाई आधार इलाका बनाएर सक्कली भनेर नक्कली डलर र सुन साटेर लाखौं रुपैयाँ ठगी गर्ने गरेका थिए । पछिल्लो पटक आइतबार बिहान डलर भनेर कागज मात्र दिइ १५ लाख रुपैयाँ ठगी गर्न लाग्दा उनीहरुलाई पक्राउ गरिएको थियो ।

‘साँगाको भित्री जंगलमा रहेको इँटाभट्टामा लगेर लुटपाट गर्न लागेका रहेछन्’, बोगटीले भने, ‘विशेष सूचनाको आधारमा डिल हुँदाहुँदै दुई जनालाई पक्राउ गरेका हौं ।’ उनीहरुको ठगीमा परिवारका अन्य सदस्य पनि संलग्न रहेको तथा घटनामा संलग्न जितबहादुरकी श्रीमती भने फरार रहेको उनले बताए ।

पक्राउ परेका दुवैमाथि यसअघि काठमाण्डौ प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय, काभ्रको टोलीले पनि मुद्दा चलाइसकेको छ ।