माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पाइप जडान शुरु
काठमाडौं । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको छ । लामो समयको प्रयास र प्राविधिक परीक्षणपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार राति सफलतापूर्वक पाइप जडान गरिएको हो । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आइतबार दिँउसो २ बजेदेखि शुरु भएको पाइप जडान कार्य राति १० बजेसम्म चलेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्राधिकरणका सञ्चालकद्वय चेतराज जोशी तथा भक्तबहादुर पुनको उपस्थितिमा पाइप राख्न शुरु गरिएको उनले जानकारी दिए ।
तल्लो सुरुङमा पाँच मिटर लम्बाइ र ३.६ मिटर व्यासका २७ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । तल्लो ठाडो सुरुङको पुछारमा रहने घुमाउरो आकारको पाइप अर्थात् ‘बेण्ड पेनस्टक पाइप’ मा सोमबार पुनःअर्को पाइप राखिएको छ । सो पाइपलाई मिलाउने, जडान गर्ने र त्यसपछि ढलान गरिनेछ । त्यसपछि अर्को पाइप जडान शुरु हुनेछ ।
पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्यौल हटेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘पेनस्टक’ पाइप जडान गाह्रो थियो । यसअघि जडान शुरु गर्दा क्रेनको डोरी नै चुँडिएको थियो ।
आयोजनाको पहिलो युनिटबाट आगामी पुसभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । मन्त्रालयले दिएको स्वीकृतिअनुसार आयोजना आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य छ । पछिल्लो व्यवस्थाअनुसार क्रेनले लगातार पाइप झार्ने हुँदा अब कामले गति लिने विश्वास लिइएको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।
माथिल्लो तामाकोशी, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ ।