२०८१ असार २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

भक्तपुर । वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ । अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन् । सधँै भीड लाग्ने अस्पताल आन्दोलनका कारण बिरामी नआएपछि सुनसान भएको छ ।

अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेपछि ३५ कर्मचारी विगत एकसातादेखि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै हिजोदेखि आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प पारेपछि आजदेखि अस्पताल बिरामी नआउँदा सुनसान भएको हो ।

सरकारले अस्पताल विकास समिति खारेज गरेर मेसुलाई अधिकार दिएपछि मेसु डा. देवकोटाले २०७५ साउन ६ गते अधिकारको दुरुपयोग गरी नियमविपरीत यसअघिका विकास समितिले गरेको सम्पूर्ण निर्णयसमेत खारेज गरेको र समितिले नियुक्ती गरेको कर्मचारीको नियुक्तीसमेत खारेज गरेको सूचना टाँस गरेको आरोप आन्दोलनरत कर्मचारीहरूको सङ्गठनका अध्यक्ष मदन द्यौलाले लगाए । उनले मेसुले आफूहरूसँग छलफलै नगरी वर्षौँदेखि खाइपाइ आएको सञ्चयकोष, महँगी भत्ता, बिदा र ग्रेडसमेत काटिएकोले ती सेवा सुविधा पुनः सुचारु गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बताए ।

अस्पतालमा विगत २२ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई निष्कासन गर्ने नियतले सेवा, सुविधा कटौती गर्दै गएको र ठेक्काबाट करारमा रहेका १३ कर्मचारीलाई साउनदेखि नियुक्ती नवीकरण नगर्ने भएकाले उनीहरुको पुनर्बहालीको समेत माग गरेको उनको भनाई छ ।

अस्पतालको ‘रिसेप्सन’मा रहेको टेलिफोन विगत सात महिनादेखि बन्द भएपनि नखुलाएको, अस्पतालको बस मर्मत नगरी थन्क्याएको तर आफ्नो गाडी र तेल खर्चको भने मेसुले व्यापक दुरुपयोग गरेको गुनासो कर्मचारीको छ । मेडिकल सुपरिटेण्डेण्ट डा. देवकोटाले प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयमा विकास समिति, करार, ठेक्काका कर्मचारीले अनधिकृतरूपमा सञ्चयकोष, महँगी भत्ता, बिदा र ग्रेड पाइरहेको भनी पत्राचार गरेपछि मन्त्रालयले त्यस्ता सुविधा रोक्न पत्राचार गरेको थियो ।

आन्दोलनका बारेमा विकास समितिका अध्यक्ष मिलन सुवालले वार्ता कमिटी बनाएको बताए । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. देवकोटाले भने, “मैले गर्नुपर्ने सबै माग पूरा गरिसकेँ, अब मन्त्रालयले पूरा गर्ने माग मात्रै बाँकी छ, मन्त्रालयमा सबै जानकारी गराइसक्यौँ, मन्त्रालयबाट टोली आउँदैछ भन्ने जानकारी पाएको छु, जे गर्छ टोलीले गर्छ ।”