नमूना मालपोत कार्यालय सञ्चालनमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गरेका छन । अपाङ्गमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको कामका बारे घरैमा बसेर जानकारी प्राप्त गर्न सकिनेलगायत व्यवस्था छ । कार्यालयमा गरिएका काममाथि भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्रालयमा बसेर अनुगमनसमेत गर्न सकिने छ ।
बुधबार आयोजित घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले विकास र सेवाका कार्यमा प्रविधिको अधिकतम उपयोग गरी सेवाग्राहीलाई छिटोछरितो सेवा दिने नीति सरकारले लिएको बताउँदै मुलुकलाई समृद्ध बनाउन भूमिमा आधुनिकीकरण तथा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए । जनताको सहजतालाई ध्यान दिन निर्देशन दिँदै उनले भने,“प्रविधिले सेवामा सहज, सुगम, पारदर्शिता ल्याउँछ, यसले उत्पादकत्व वृद्धि गर्छ, कृषि, औद्योगिकलगायत क्षेत्रमा यसको समुचित प्रयोग गरिनुपर्छ ।’