२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

डोल्पा । जाजरकोट–डोल्पा सडक आयोजना सडक विभागलाई हस्तान्तरण गर्न लागिएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त सडकले यसै महिनाभित्रै पूर्णता पाउने बताउँदै आयोजना नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत विभागलाई यसै महिना हस्तान्तरण गर्न लागिएकोे सेनाले जनाएको छ ।
जाजरकोटको पासागाडदेखि दुनैसम्मको ११८ किलोमिटर सडक आयोजना सफलतापूर्वक निर्माण पूरा गरेर आयोजना नै विभागलाई हस्तान्तरण गर्न लागिएको सडक निर्माण कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिए । तत्कालीन विषम परिस्थिति र भौगोलिक विकटता भए पनि सरकारले सेनालाइ दिएको जिम्मेवारी पूरा गर्दै डोल्पालीको भाग्यरेखाका रुपमा रहेको उक्त सडक आयोजना पूरा गरी विभागलाई हस्तान्तरण गर्न लागिएको उनले बताए । अहिले सुँपानी–दुनै सडकखण्डको १४ दशमलव ३ किमी सडकको सुधार भइरहेको छ ।
सो खण्डमा पर्ने कालागौँडा भीर र लामालोटे भीरलगायत सात भीर छिचोलेर सुधार अन्तिम चरणमा पुगेको छ । यसै महिनाभित्र कार्य सम्पन्न गरिने कार्यदल प्रमुख पहाडीले बताए । आयोजनाको दुनैसम्मको ट्रयाक खुलाउने काम गत मंसिर ४ मा सम्पन्न भइसकेको छ ।
सुँपानी–दुनै खण्डको ट्रयाक खुलाउने काम तत्कालिन जिल्ला बिकास समिति खुलाइएको थियो ।यस खण्डको सडकको चौडाइ साँघुरो भएकाले सेनाले सुधार गरेको हो । डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्दै नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्न यो सडकको निर्माण थालनी गरिएको हो । रणनीतिक महत्व बोकेको सो सडक २०६५ सालमा जाजरकोटको पासागाडदेखि निर्माण शुरु गरेर डोल्पा सदरमुकाम दुनैसम्म सडक जोड्नका लागि काम थालनी गरिएको थियो ।