२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

महोत्तरी । जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गए राति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् ।
गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा गए राति अन्दाजी एक बजेतिर ८/१० जनाको अज्ञात हतियारधारी समूहले श्रेष्ठको घरमा पसी चोरी गर्न लागेको अवस्थामा घरधनी श्रेष्ठकी छोरी २७ वर्षीया छोरी अञ्जुकुमारी श्रेष्ठले टोल छिमेकलाई होहल्ला गरी गुहार माग्न थालेपछि चोरहरुले उनको हत्या गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

चोरहरुले युवती श्रेष्ठको शरीरभरि धारिलो छुरा प्रहार गरी गम्भीर घाइते बनाई भागेपछि उनलाई राति २ बजेतिर प्रहरी चौकी कान्तिबजारबाट प्रहरी नायब निरीक्षक बलबहादुर माझीको नेतृत्वमा खटिएको प्रहरी टोली र परिवारजनले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा लगेका थिए । तर त्यहाँ उनको उपचार सम्भव नभएपछि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा आज बिहान पौने ५ बजेतिर उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

घटना घटेलगत्तै सो क्षेत्रमा चोर तथा हत्याराहरुको व्यापक खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

करेन्ट लागेर मृत्यु

महोत्तरी जिल्लाको सरपल्लो–मनरा सडकखण्डमा गए राति एक तेल ट्याङ्करका सहचालकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–८ घर भई तेल ट्याङ्करको सहचालकको रुपमा काम गर्दै आएका २५ वर्षीय उमेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।
गए राति करीब ८ बजेतिर ना७ख ११९५ नंको ट्याङ्कर तेल लिएर जिल्लाको सरपल्लो बजारबाट मनरा बजार जाँदै गरेको अवस्थामा मनरासिस्वा नगरपालिका–८ स्थित सडकमा पोलमाथि रहेको विद्युतको तार ठाउँठाउँमा झोल्लिन गई ट्याङ्करमा छुन खोज्दा ट्याङ्करका सहचालकले तार पन्छाउन ट्याङ्कर माथि चढेका थिए । तर विद्युतीय तार पन्छाइरहेकै बेला विद्युत् चुहिएर अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

करेन्ट लागी गम्भीर घाइते सहचालक यादवलाई तत्काल उपचार लागि जिल्ला अस्पताल जलेश्वर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । मृतक यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।