‘तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्छ’
काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताएका छन । उनले सङ्गीत र साहित्यले बिग्रिएको सम्बन्धलाई समेत सुमधुर बनाउन सक्ने हुँदा कलाकारले हरेक क्षेत्रका नागरिकको भावनालाई बुझेर सिर्जना पस्कनुपर्ने बताए ।
गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा शनिबार उनले कलाकार र साहित्यकारले राष्ट्र निर्माणमा महत्वूर्ण भूमिका निर्वाह गरिरहेको पनि उल्लेख गरे ।
उनले कलाकार र साहित्यकारले प्रकृतिसँग जोडिएका विषयवस्तुलाई उठान गर्नुपर्ने बताए । विकासको प्रक्रियाले प्रकृतिलाई निकै हानि नोक्सानी पु¥याइरहेको उल्लेख गर्दै उनले अब रचनात्मक ढङ्गले यी विषयमा कलम चलाउनुपर्ने बेला आएको बताए । उनले भने, “विकास भनेकै बाटो हो भन्ने बुझाइका कारण जथाभावी डोजर चलाउँदा पहाडका धेरै ठाउँमा पानीका मुहान सुक्दै गइरहेका छन, जसका कारण खानेपानीको समस्या निम्तिदै गइरहेको छ ।”
सो अवसरमा विभिन्न कलाकार तथा साहित्यकारलाई पुरस्कृत गरियो । यो वर्षको राष्ट्रिय स्रष्टा पुरस्कारबाट गीतकार नगेन्द्र थापालाई नगद रु एक लाख र सम्मानपत्रले सम्मान गरियो । यस्तै वर्ष गीत पुरस्कारबाट डिआर उपाध्याय र हाङयुग अज्ञात पुरस्कृत भए । वर्ष पुस्तकबाट उर्मिला कोइराला र गौरभ गुरुङलाई पुरस्कृत गरियो । चारै जनालाई नगद रु ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको थियो ।