२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र संघले सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार चितवनमा आयोजित माडी नगरपालिकाको तेस्रो नगरसभामा उनले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताए । कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने उनको भनाई थियो ।
अहिलेको परिवर्तन गुणात्मक भएको तथा पहिलाका परिवर्तन मात्रात्मक भए पनि राजा फालेर गणतन्त्र ल्याउनु सानो परिवर्तन नभएको भन्दै अव जनताले विकासमा परिवर्तन चाहेको उल्लेख गरे ।
पुरानै संरचना र पुरानै कानूनमा काम गर्न कठिन भएको बताउँदै अध्यक्ष दाहालले भने,“पुराना ऐन कानून र काम गर्ने तरिकामा परिवर्तन नआए नयाँ संरचनाले काम गर्न सकिँदैन ।”
माडीका समस्या र सम्भावना विशिष्ट प्रकृतिका रहेको भन्दै उनले समस्या समाधान गर्दैअघि बढ्ने तर्फ तीनै तह लाग्नुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले बाँदरमुढे घटनाका पीडितसँग गरिएको सहमतिअनुसार काम अघि बढाउन लागिएको जानकारी दिदै सहमतिअनुसार अहिले सङ्घीय सरकारले घटनाका पीडितहरुको सम्झनामा १० करोडको उद्यान निर्माणको तयारी थालेको बताए ।
माडी नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि ९२ करोड ७० लाख ४८ हजारको बजेट पेश गरेको छ । जसमा चालुतर्फ १९ करोड ५० लाख र पूँजीगततर्फ ७३ करोड २० लाख ४८ हजार बजेट विनियोजन गरिएको नगर उपप्रमुख ताराकुमारी काजीमहतोले जानकारी दिए ।