२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

धरान । मर्निङवाकमा हिडिरहेकी एक महिलाकोे सुनको सिक्री लुटपाट गर्ने दुई युवालाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
पक्राउ पर्नेहरुमा तेह्रथुम आङ्दिम–३ घर भई हाल धरान–३ बस्दैआएका २० वर्षीय रामकुमार दर्लामी र धरान ३ बस्ने १८ वर्षीय विनोद राई रहेका छन् ।
आज विहान मर्निङवाकमा रहेकी धरान–१५ श्यामचोक बस्ने ४० वर्षीय कमला गौतमले घाँटीमा लगाएको अढाइतोलाको सुनको सिक्री लुटेर भाग्ने प्रयास गरेका उनीहरुलाई स्थानीयले समातेका थिए ।
मर्निङवाक गर्दै मेरिगोल्ड स्कुल नजिकै पुगेकी गौतमलाई दर्लामी र राईले पछाडिबाट धक्का दिएर सुनको सिक्री लुटेपछि गौतम चिच्याउँदै उनीहरुलाई पक्रन दौडेकी थिइन् । उनको पछि अरु पनि मर्निङवाक गर्दै हिडिरहेकाहरुले खेदाएर राई र दर्लामीलाई समातेर प्रहरीलाई बुझाएका हुन।

लुटेराहरुको साथबाट गौतमको सुनको सिक्री र दुईथान मोबाइल बरामद गरेको छ । प्रहरीले दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।