२०८१ कार्तिक १९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानको मर्म र भावनाअनुरुप नेपाली सेना परिचालित हुँदै आएको बताएका छन ।

प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत रक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको मंगलबार जवाफ दिँदै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि नेपाली सेना दृढ सङ्कल्पित रहेको बताए ।
नेपाली सेनालाई आधुनिकीकरण र सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, “विकास र निर्माणका काममा पनि नेपाली सेनाको योगदान उल्लेख्य छ ।”
सैनिक कूटनीतिक सम्बन्ध विस्तार, पेशागत दक्षता र क्षमता अभिवृद्धिका साथै शान्ति स्थापना र विपद् व्यवस्थापनामा क्षमता बढाउने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय सैन्य तालीम र अभ्यास गर्दै आएको चर्चा गर्दै उपप्रधानमन्त्री पोखरेलले विगतदेखि नै यसखाले प्रशिक्षण विशुद्ध सेनाको क्षमता अभिवृद्धि र पेशागत व्यावसायिक सुदृढीकरणका सिलसिला हुन् भने ।

नेपाली सेनाले भारत, चीन, अमेरिका, श्रीलङ्का र बेलायतका सेनासँग पेशागत क्षमता बढाउने, सहकार्य गर्ने, ज्ञान आदान–प्रदान र पारस्परिक क्षमता बढाउने सिलसिलामा यस्ता अभ्यास हुने गरेको बताउँदै उहाँले नेपाल स्थापनाकालदेखि नै असंलग्न आन्दोलनको सदस्य मुलुक भएकाले कुनै क्षेत्रीय वा अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल हुने भन्ने प्रश्नै उठ्दैन भने ।