आमाले विवाह प्रस्ताव अस्वीकार गर्दा छोरीको अपहरण
बुटवल । आमाले विवाह प्रस्ताव अस्वीकार गर्दा अपहरणमा परेकी ६ वर्षीया नाबालिकालाई प्रहरीले दुई दिनपछि सकुशल रुपमा उद्धार गरेको छ ।
रुपन्देही तिलोत्तमा नगरपालिका–१२ की एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै उनकी ६ वर्षीया छोरी सावित्री थापालाई दुई दिनअघि अपहरण गरिएको थियो । अपहरणमा परेको सूचना पाएपछि प्रहरीले खोजतलासका क्रममा उनलाई बुटवल उपमहानगरपालिका–५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं १०३ बाट उद्धार गरिएको हो ।
प्राप्त सूचनाका आधारमा बालिकालाई कोठामा लुकाइराखेको अवस्थामा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले आज बिहान करीब ७ः३० बजेको समयमा होटलमा छापा मारेर उनलाई सकुशल उद्धार गरेको हो । अपहरणकारी वीरगञ्ज महानगरपालिका–२७ का जयराम दासलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।
अपहरणकारी दास विगत नौ महीनादेखि पीडितको घर नजीकै रैनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएका थिए । सोही क्रममा अपहृत बालिकाकी आमा मञ्जु थापासँग चिनजान भएको थियो ।
सामान्य चिनजानकै आधारमा दासले विवाहको प्रस्ताव राख्दा महिलाले अस्वीकार गरेपछि घरमा सावित्री थापाका पति टेकबहादुर थापा नभएको मौका छोपेर उनले सोमबार साँझ करीब ८ बजेको समयमा नाबालिकालाई जबर्जस्ती अपहरण गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । पक्राउ परेका दासमाथि थप अनुसन्धान जारी छ ।