अन्ततः ‘गलबन्दी’ विवाद सुल्झियो, संगीत सिर्जना शम्भु राई लेखिने
काठमाण्डौ । पुराना गायक शम्भु राई र प्रकाश सपूतबीच अहिले निकै चर्चामा रहेको लोकगीत ’गलबन्दी’ को विषयलाई भैरहेको विवाद अब साम्य भएको छ ।
बुधबार गायक शम्भु राई र प्रकाश सपूतबीच सहमति भएको हो । सहमति अनुसार प्रकाश सपूतको ‘गलबन्दी’ गीतको वितरण र यूट्युब च्यानलमा गीत संगीत सिर्जना शम्भु राई र पुनः गीत संगीत सिर्जना प्रकाश सपूत लेखिनेछ । तर गीतको संगीत सिर्जनामा शम्भु राईको नाम लेखिए पनि त्यसको सबै अधिकार भने प्रकाश सपूतमा रहने र आर्थिक आम्दानी पनि सपूतकै रहने छ ।
त्यस्तै शम्भु राईले नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा हालेको मुद्दा पनि फिर्ता लिने सहमति भएको छ । गायक राईले आफ्नो ‘आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतको लय प्रकाश सपूतले आफ्नो ‘गलबन्दी’ गीतमा हुबहु नक्कल गरेको भन्दै नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा उजुरी हालेका थिए ।