लाखौं ठगी गर्ने लम्साल पक्राउ
महोत्तरी । सर्वसाधारणलाई झुटो परिचय दिँदै लाखौं ठगी गर्ने एक जना महोत्तरीमा पक्राउ परेका छन् । राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटी संस्थाको जनकपुर शाखा प्रबन्धक भएको बताउँदै लाखौं रकम ठगी गर्ने ४४ वर्षीय रमेश लम्साललाई इलाका प्रहरी कार्यालय बर्दिवासले पक्राउ गरेको हो ।
लम्साल तेह्रथुम जिल्लाको जलजलेका स्थायी बासिन्दा रहेको र हाल सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–७ मा बसोबास गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ । लम्सालले बर्दिवास नगर क्षेत्रका कैयन सर्वसाधारणको जग्गा धितो राख्न लगाउँदै ४८ लाखभन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले बताए ।
लम्साललाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको स्वीकृतिमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पीडित सर्वसाधारणले गरेको उजुरी र दिएको हुलियाका आधारमा लम्साललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।

