डोल्पामा कर्मचारी बीच कुटाकुट, कार्यालय प्रमुख घाइते
जाजरकोट । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा कर्मचारीबीच झडप हुँदा कार्यालय प्रमुख घाइते भएका छन् । आक्रमणमा संलग्न भएको भन्दै सात कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।
यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व उठाएर कार्यालयमा फर्किएका चार जना कर्मचारीले मदिरा सेवन गरेर कार्यालय प्रमुख प्रमोदकुमार यादवमाथि आक्रमण गरेका थिए । यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व उठाउने टोलीमा सात जना कर्मचारी रहेका थिए ।
असार ८ गते बिहान सेनाको सुरक्षासहित निकुञ्जको पोष्टबाट आएका सात कर्मचारीले कार्यालय प्रमुख प्रमोदकुमार यादवलाई दुनैस्थित बैंकमा रकम जम्मा गर्न अनुमति मागेका भए पनि कार्यालय प्रमुखले पूरै हिसाब नहेरी जम्मा नगर्न अनुरोध गरेपछि कर्मचारी र कार्यालय प्रमुखबीच विवाद बढेको थियो ।
कार्यालय प्रमुखको आग्रह विपरीत सात कर्मचारीले निकुञ्जमा उठाएको ७० लाख रकम बैंकमा जम्मा गरिसकेको पाइएको छ । रकम जम्मा गरी आएका सात जना कर्मचारीलाई सुलिगाड निकुञ्जको कार्यालयमा बिहान ११ बजे सुरक्षाका लागि खटिएको सेनाले जाँच गर्दा थप विवाद भएको थियो । जाँचपछि शान्त रहेका कर्मचारी देवेन्द्र जिसी, मनिकृष्ण पाण्डे, हरि रावल, डिल्ली सुनार, महेश्वर रावल, खगेन्द्र भण्डारी, प्रकाश बुढाले बेलुकी मदिरा सेवन गरेर कार्यालय प्रमुख यादवमाथि हातपात गर्नुका साथै अपशब्द बोलेर आक्रमण गरेको प्रमुख सूचना अधिकारी छत्र खड्काले बताए ।
निकुञ्जबाट आएका सात जना कर्मचारीले र कार्यालयमा रहेका कार्यालय प्रमुख प्रमोदकुमार यादव, गोपाल खनाल, छत्र खड्का, अरुण चौधरीमाथि आक्रमण गरेको आरोप लागेको छ । झगडालाई नियन्त्रणमा लिनका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको बताएको छ । उता सात जना कर्मचारीले आफूहरुलाई सेनाले कुटपिट गरेको आरोप लगाएका छन् । बैंकमा रकम जम्मा गरेको भन्दै आफूहरुमाथि कार्यालय प्रमुखको निर्देशनमा सेनाले कुटपिट गरेको आरोप लगाएका छन् ।