२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

फिदिम । पाँचथरको सुदूरउत्तरी याङवरक गाउँपालिका–२ फलैंचाको उच्च पहाडी भेगमा रहेका छ वटा बस्तीमा गत मंगलबार बेलुकी आएको पहिरोबाट सात घर परिवार विस्थापित बनेका छन् । घर नजिकै पहिरो गएका कारण बाँकी १४ परिवार प्रभावित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोबाट याङवरक गाउँपालिका–२ फलैँचाको चिङ्मा र मुक्लाबुका सात परिवार पूर्णरुपमा विस्थापित भएका हुन् । स्थानिय सन्तोष बेघा, मिलन माङ्मु, दलबहादुर चौहान, लालबहादुर चौहान, पहलमान राई, जसबहादुर राई र राजेश राईको परिवार पहिरोका कारण विस्थापित भएका हुन् । विस्थापितमध्ये पहलमान राईको घर पहिरोले बगाएको छ भने अन्यको घरमा समेत बस्न नसकिने अवस्था रहेको छ । विस्थापित सात परिवारका जम्मा ४२ सदस्य छन् ।

चिङ्मा बस्तीका भीमबहादुर राई, पूर्णबहादुर राई, टङ्क माङ्मू, लालबहादुर राई, दिलबहादुर माङ्मु, बालकृष्ण राई, कृष्णबहादुर राई, विष्णुमाया राई, हर्कमान राई र दिलकुमारी राई तथा मुक्लाबु बस्तीका डिकबहादुर बानियाँ, कपिलमान राई, सेरमान राई र ईश्वरी बेघा पहिरोबाट प्रभावित बनेका हुन् । निरन्तरको वर्षापछि सेपी, चिङ्मा, बेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा पहिरो गएको हो । वडाध्यक्ष देउकुमार योङहाङका अनुसार रातिबाट पहिरो जान थालेपछि स्थानीय घर छोडेर भागेका थिए । बस्तीभन्दा माथि डुँडे चौर नामको ठूलो खुला मैदान रहेका कारण स्थानीयवासी त्यहाँ पुगेका थिए ।
अरु मानव बस्तीबाट छ घण्टाको पैदल दूरीमा रहेको बर्मे भन्ने स्थानमा मोटरबाटो पु¥याउन यहाँको सन्त गोलाइ भन्ने स्थानबाट सेपी–चिङ्मा हुँदै मोटरबाटो निर्माण गरिएको छ । निरन्तरको वर्षा र मोटरबाटो निर्माणका कारण पहिरो गएको स्थानीयवासीको भनाइ छ ।
पहिरोबाट २५ किलोवाट क्षमताको मेजर चिङ्मा रवि खोला लघु लजविद्युत् आयोजनाको इन्टेक, पावर हाउसलगायत अधिकांश संरचनामा क्षति पुगेको छ । पहिरोले गोठसमेत बगाएको छ । कति पशु चौपाया मरे भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन । यहाँको मुख्य आम्दानीको स्रोत नै पशुपालन हो ।
डुँडे चौरमा आश्रय लिएर बसेका पीडितलाई याङवरक गाउँपालिका, पाँचथर उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाले बिहीबार राहत सामग्री प्रदान गरेका छन् । यी संस्थाले पीडित परिवारलाई ३५० किलो चामल, १५० किलो चिउरा, ३५ काटुन तेल, १६ काटुन चाउचाउ, ३० थान कम्बल, १५ थान त्रिपाल, १५ थान भाँडावर्तन तथा लत्ताकपडा वितरण गरेको याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले जानकारी दिइन् ।