बजेट वितरणमुखी हुनुमा प्रदेश सरकार मात्र दोषी होइन : मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट वितरणमुखी हुनुमा प्रदेश सरकार मात्र दोषी नरहेको बताएका छन ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित शीर्षक माथि सदस्यहरुले उठाएका प्रश्नको जवाफका क्रममा उनले सरकारले रोजगारी सिर्जना गर्ने कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताए ।
मुख्यमन्त्री राईले जनतासँग प्रत्यक्ष रुपमा जोड्न निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष स्थापना गरेको भन्दै यस किसिमको अभ्यासले प्रदेश सरकारलाई अझ सशक्त बनाउन मद्दत गर्ने बताए । सो शीर्षक माथि प्रदेशसभा सदस्य उपेन्दप्रसाद घिमिरे, केदार कार्की, सूर्यमाराज राई, मोहनबहादुर खड्का, राजेन्द्रकुमार राई, लोकप्रसाद सङ्ग्रौला, विष्णु तुम्वाहाम्फेले छलफलमा भाग लिएका थिए ।