२०८१ बैशाख १२, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

भक्तपुर । सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताएका छन । हनुमन्ते सफाइ अभियानको ७०आँै हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उनले भने, “सडक र नदीमात्रै सफाइ गरेर हुदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ जरुरी छ ।”

देशमा माफिया सक्रिय रहेकामा चिन्ता व्यक्त गर्दै उनले थपे,“अहिले देशमा माफियाहरु सक्रिय छन, यस्ता माफियाले देशै हडप्न खोजेका छन् ।” व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरी जस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको चर्चा गर्दै उनले प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश सदस्य शशीजङ्ग थापाले करीब २३ रोपनी क्षेत्रफलमा फैलिएको दक्षिण बाराही उद्यान सामुदायिक वनमा प्रदेश सरकारको ७० लाखको लागतमा अत्याधुनिक र आकर्षक पार्क निर्माणकार्य भइरहेकाले यस्ता पार्कको विभिन्न ठाउँमा विस्तार गर्दै लैजाने बताए । कार्यक्रममा २०० वटा एभोगाडोका बिरुवा रोपिएका थिए ।