२०८१ मंसिर २९, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

डोल्पा । डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले मात्र बजेट सार्वजनिक गरेको छ । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन गर्न गएका कारण बजेट सार्वजानिक हुन सकेको छैन् ।

अधिकांश समय काठमाडौँमा बिताएर चैतमा मात्र डोल्पा पुगेका जनप्रतिनिधि अहिले यार्सागुम्बाको सिजन शुरु भएपछि जेठ महीनादेखि पाटनमै रहेका पाइएका छन् । जनप्रतिनिधि पाटनमा भएपछि स्थानीय तहको बजेट सार्वजनिक हुन सकेको छैन् । जनप्रतिनिधि यार्सा टिप्न पाटन र गाउँपालिकाका प्रशासकीय अधिकृत, लेखापाल सदरमुकाम बस्दा समस्या भएको नागरिक अगुवा शेरबहादुर बुढाले बताए ।

पटक÷पटक समयमै बजेट ल्याउन अनुरोध गरिएको र यार्सागुम्बा सङ्कलका लागि व्यवस्थापन राम्रो बनाइदिन आग्रह गरे पनि त्यो सुनुवाइ नभएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए । पाँच स्थानीय तहले यार्सा सङ्कलनलगायत विभिन्न कारण देखाइ बजेट सार्वजनिक गर्न नसकेको जनाएका नेपाल पत्रकार महासङघ डोल्पाका पूर्व अध्यक्ष विष्णुलाल बुढाले बताए ।
अहिले यार्सा सिजन केही समयपछि चीनमा व्यापार, चिसोमा तल्लो भेगमा झर्ने समस्याले गर्दा काम गर्न कठिनाई भएको डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनचन्द्र धरालाले बताए ।