२०८१ चैत्र ११, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । एयर एशिया ग्रुपअन्तर्गतको वायु सेवा प्रदायक कम्पनी थाई एयर एशियाले बैंकक–काठमाडौँ गन्तव्यमा उडान विस्तार गर्न पहल थालेको छ । थाई एयर एशियाले नेपाल उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिएको छ ।
बैंककाट–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने इच्छा जनाउँदै थाई एयर एशियाले हालै निवेदन दिएको र सम्पूर्ण कागजातबारे अध्ययन भइरहेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए । उनले भने,“उसको एयर एशिया एक्ससँगको सम्बन्ध, अन्तराष्ट्रिय उडानका मापदण्ड पूरा गरेको छकी छैन यो सबै विस्तृत अध्ययन गरेपछि मात्र उडान अनुमति दिइन्छ । अहिले कम्पनीले पेश गरेको कागजातको अध्ययन प्रक्रियामा छ ।”
सबै प्रक्रिया पूरा गरेको भए दुई महीनाभित्र उडान अनुमति पाउने प्राधिकरणले जनाएको छ । थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज र निजी क्षेत्रको थाई लाइन एयरले बैंककाट–काठमाडौँ गन्तव्यमा सातामा समान सात उडान गर्दै आएका छन् । नेपालबाट राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बैंकक सातमा तीन उडान गर्दै आएको छ ।
अहिले नेपाल आउन चाहेको थाई एयर एशिया पनि निजी क्षेत्रको संयुक्त लगानीको कम्पनी रहेको छ । बैंकक मुख्यालय रहेको यो कम्पनी मलेसियाको एयर एशियासँग ‘ज्वाइन्ट भेन्चर’ को रुपमा रहेको छ । यसको एयर एशिया एक्ससँगको सम्बन्धका बारेमा नेपालले अध्ययन गरिरहेको छ । एयर एशियाले क्यानलाई करोडौं बक्यौता नतिरी काठमाडौं उडान केही महीना अगाडि बन्द गरेको थियो ।
थाई एयर एशियाको मलेसियाको एयर एशिया एक्ससँगको सम्बन्ध भए नभएको पनि अध्ययन भइरहेको क्यानले जनाएको छ । यदि उक्त कम्पनीसँगको संयुक्त लगानी रहेमा एयर एशियाको बाँकी बक्यौता तिरिदिने सम्झौता भएको खण्डमा थाई एयर एशियालाई उडान अनुमति दिन सकिने क्यानले जनाएको छ ।
त्यतिमात्र नभई थाई एयर एशियाको सञ्चालन, व्यवस्थापन सुरक्षा र नेपालको कानूनसँग सञ्चालन योग्य हुन्छ की हुँदैन यो सबै हेरेर मात्र उडान अनुमति पाउनेछ । कम्पनीका कागजात नेपाली पाइलट र इञ्जिनीयरले अध्ययन गरेर उडान योग्य भएको सिफारिस गरेपछि मात्र प्राधिकरणले अनुमति दिने बताइएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हाल तीन नेपालीसहित २८ वायुसेवा प्रदायक कम्पनीले अन्तर्रा्ष्ट्रिय उडान भर्दै आएका छन् ।