२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । समयमा सम्पन्न नगरेका कारण काबेली करिडोरमा निर्माणाधीन पाँचथरमा निर्माणाधीन तल्लो हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाले पाँच प्रतिशत जरिवाना तिर्नुपर्ने भएको छ । माउण्टेन हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचथरमा निर्माण गरेको उक्त आयोजनाले यही असार ६ गतेसम्म प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्ने शर्त थियो ।
कूल २१.६ मेगावाट क्षमताको सो आयोजनालाई काबेली करिडोर प्रसारण लाइन आयोजनाले गत वैशाख २५ गते नै प्रसारण लाइन सञ्चालनमा आएको जानकारी दिएको थियो ।
प्रसारण लाइन सञ्चालनमा आएको दुई महिना पुग्न लाग्दा समेत तल्लो हेवा खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिन अझै केही दिन लाग्ने देखिएको छ । तोकिएको समयमा विद्युत् उपलब्ध गराउन असफल भएपछि विद्युत् खरीद बिक्री सम्झौतामा उल्लेख भएअनुसार पाँच प्रतिशत जरिवाना लाग्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
तोकिएको समयमा प्राधिकरणलाई विद्युत् उपलब्ध नगराए सम्बन्धित प्रवद्र्धकले जरिवाना तिर्नुपर्छ । प्राधिकरणले पनि शर्तअनुसारको प्रसारण लाइनलगायत अन्य भौतिक संरचना नबनेका कारण विद्युत् खेर गए जरिवाना तिर्नुपर्छ ।
प्राधिकरणका प्रवक्ता अधिकारीका अनुसार प्रसारण लाइन निर्माण सम्पन्न भइसक्दा समेत तोकिएको समयमा विद्युत् दिन नसकेका कारण प्रवद्र्धकले नियमानुसार जरिवाना तिर्नैपर्छ । व्यावसायिक उत्पादन सुरु भएपछि एकमुष्ठ रुपमा नै के कति तिराउने भन्नेमा निर्णय हुने उनको भनाइ छ ।
आयोजनाले सोमबार आयोजनाको सुक्खा परीक्षण ‘ड्राइटेस्ट’ गर्ने जानकारी प्राधिकरणलाई गराएको छ । उक्त परीक्षण गरेपछि आयोजनामा जडित मेसिनमा पानी पठाएर विद्युत् उत्पादन नगरी परीक्षण गरिन्छ । त्यस्तो परीक्षण सम्पन्न भएपछि १५ दिन परीक्षण उत्पादन र प्रसारण गर्नुपर्ने व्यवस्था छ । यस आधारमा हेर्दा सो आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुन साउन नै लाग्ने देखिन्छ ।
तल्लो हेवा खोला आयोजनाका आयोजना प्रमुख गणेश सुब्बाले सुरुङमा पानी चुहिएका कारण यसअघिको परिक्षण असफल भएपछि मर्मत गरेर पुनः सोमबार परीक्षणका लागि प्राधिकरणको प्राविधिक टोलीलाई आमन्त्रण गरिएको जानकारी दिए । जरिवाना लाग्ने वा नलाग्ने विषयमा आफू जानकार नभएपनि अनौपचारिक रुपमा त्यस्तै कुरा सुनेको उनको भनाइ छ ।