अरु वायु सेवा कम्पनी नाफामा रहने तर निगम चाहिँ सधैं घाटामा किन ? : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमलाई अहिलेकै अवस्थामा पैसा दिन नसकिने बताएका छन ।
निगमको ६१ औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,“व्यवस्थापनले सञ्चालनको ठोस योजना ल्याउनुपर्छ, अहिलेकै अवस्थामा चलाउन सकिन्न भने रणनीतिक साझेदार पनि खोजौँ, यथास्थितिमै पैसा दिन सकिन्न, व्यवस्थापन सञ्चालनको सुव्यवस्थाविनै पैसा दिन मिल्छ भन्नेमा मलाई विश्वास छैन ।”
प्रधानमन्त्री ओलीले अन्य निजी वायु सेवा प्रदायक कम्पनी नाफामा रहने तर निगम चाहिँ सधैँ घाटामै रहिरहनुपर्ने अवस्था किन आयो भनी प्रश्न गर्दै आर्थिक अवस्था सुधार्न सरकारले आवश्यक परे हस्तक्षेप गरेर भएपनि निगमको साख जोगाउने बताए ।
आर्थिकरूपमा कमजोर बनेको निगमले सञ्चित पूँजी वृद्धिका लागि सरकारसँग २० अर्ब माग गरेको छ । निगमले अहिले ३७ अर्ब घाटामा रहेको जनाएको छ । भएका जहाज पनि सञ्चालन नभइरहेको अवस्थामा निगमका कर्मचारी सङ्गठनका प्रतिनिधिले भने आगामी पाँच वर्षमा २५ वटा जहाज खरीदका लागि सरकारसमक्ष आग्रह गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले निगमको प्रभावकारी व्यवस्थापन नभएसम्म जहाज मात्र किनेर थन्क्याउने पक्षमा सरकार नभएको प्रष्ट पारे ।
प्रधानमन्त्रीले भने,“निगममा ३७ अर्ब घाटा के कारणले, कसरी हुनपुग्यो, गम्भीर समीक्षा हुन जरुरी छ, कतै निगमकै कमजोरीका कारण यो अवस्था आएको हो कि ? अहिलेको सरकार चर्चापरिचर्चाबाट प्रेरित हुँदैन, जहाज किनेर त्यसै लडाउन ? मैदानभरि जहाज छन् तर आकासमा उड्दैनन् यस्तो अवस्था सधैँ रहिरहनु उचित हुन्न ।”